काठमाडौं । निर्माण व्यवसायीले सप्लायर्सलाई उधारोबापतको भुक्तानी गर्नुपर्ने रकम नदिएपछि व्यवसायी र सप्लायर्सबीच लफडा सुरु भएको छ ।
निर्माण व्यवसायीले सप्लायर्सबाट उधारोमा सामान लैजाने र बेला बेलामा रकम दिने गरेका थिए । तर, विगत ६ महिनादेखि निर्माण व्यवसायीले सप्लायर्सलाई दिनुपर्ने रकम नदिएपछि उनीहरुबीच तनाव उत्पन्न भएको हो ।
निर्माण सम्पन्न गरी बिल पेस गरेको लामो समय भइसक्दा पनि सरकारले झन्डै १ खर्ब रुपैयाँ उनीहरुलाई भुक्तानी गर्न नसक्दा समस्या पैदा भएको हो । सरकारले भुक्तानी नगरेपछि सप्लायर्सलाई तिर्न नसकेको र उनीहरुले पनि पुरानो रकम नतिरेपछि थप सामान नदिएको व्यवसायीहरुको भनाइ छ । यसले गर्दा निर्माणका कामसमेत प्रभावित हुने व्यवसायी बताउँछन् ।
नेपालकै ठूलो निर्माण सामग्रीको हेलसेलरमध्येको एक राजेश हार्डवेयरका सञ्चालक सुवास अग्रवालका अनुसार निर्माण व्यवसायीले ६ महिनाभन्दा बढी समयदेखि भुक्तानी नगरेपछि थप सामान उधारोमा दिन नसकिने बताए ।
‘उद्योगबाट नगद वा बैंक ग्यारेन्टी लिई छुटाएको सामान निर्माण व्यवसायीलाई कतिन्जेल उधारोमा दिनु ?’ अग्रवालले भने, ‘पुरानो भुक्तानी भएपछि नयाँ सामान दिइहाल्छौं ।’
निर्माण व्यवसायीलाई सरकारले भुक्तानी गर्नुपर्ने रकम नगर्दा समस्या उत्पन्न भएको हो । व्यवसायीले बारम्बार सरकारसँग आफूहरुले नियमसंगत पाउनुपर्ने रकम निकासा गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नगरको उनीहरु बताउँछन् ।
भुक्तानीकै कारण बैंक ऋण तथा यन्त्र उपकरणको किस्ता बुझाउन नसकेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । रड, सिमेन्ट, बिटुमिन, इँटा, गिट्टी, बालुवालगायत निर्माण सामग्रीको भुक्तानीसहित कामदार तथा श्रमिकको रकम दिन नसकेको उनीहरुको भनाइ छ ।
सरकारले भएभरको पैसा ढुकुनीमा राख्दा त्यसले अर्थतन्त्रको चक्र नै बिगारेको छ । राज्य कोषमा भएको पैसा बाहिर आएको भए, बैंकमा तरलता बढ्थ्यो । निर्माण व्यवसायीले भुक्तानी गर्नुपर्ने रकम तिर्थे । अर्थतन्त्र चलायमान हुन्थ्यो ।
तर, सरकारले ढुकुटीबाट रकम खर्च गर्न नसक्दा निर्माणक्षेत्र नै प्रभावित हुने देखिएको निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
समयमा भुक्तानी हुन नसक्दा निर्माणजन्य उद्योगको उत्पादन ५० प्रतिशतमा झरेको छ । सामान्यतया अहिले पूर्वाधार निर्माणले गति लिने समय हो । तर, यही बेला निर्माणजन्य उद्योगको उत्पादन ५० देखि ६० प्रतिशतमा झर्नुले यो क्षेत्र सुस्ताएको देखाउँछ ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार धेरै उद्योगले आफ्नो उत्पादन ५० प्रतिशतमा झारेका छन् । बजारमा माग निरन्तर घट्दै गएपछि उत्पादन कटौतीमा उद्योगीहरु पुगेका उनको भनाइ छ ।