काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ । सो बिजुली बिहीबार राति १२ बजेर १५ मिनेटदेखि नेपालमा उपलब्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतमा बिजुलीको भाउ अत्यधिक महँगिएको र उच्च मूल्यमा नै बिजुली खरिद गर्नु बाध्यता भएको बताए ।
कुनै बेला प्राधिकरणले प्रतियुनिट ३ रुपैयाँसम्म पनि खरिद गरेको थियो । तर, अहिले त्याे अवस्था छैन । बढेकाे दरमा किन्दा ३५ दिनमा ८ अर्ब घाटा भएकाे प्राधिकरणकाे भनाइ छ ।
भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो । तर बुधबार भने नेपालले भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको हो ।
‘आजदेखि कार्यकारी निर्देशकको निर्देशनपछि हामीले २० रुपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली किन्छौं’ उनले भने ।
नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको भट्टराईले बताए ।
‘अहिले फुल रेटमा बिड गरेका छौं, अब विजुलीको समस्या नहोला’ प्रवक्ता भट्टराईले भने ।