काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तसम्म काठमाडौंमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । चैतभित्रै मेलम्चीको पानी ल्याउन भनी उनी पटकपटक आयोजनास्थलमा पुगिसकेका छन् ।
२०७८ असोज २२ गते खानेपानीमन्त्री बनेका चौधरीलाई नै आफूले कतिपटक यही वर्ष मेलम्ची काठमाडौं ल्याउने प्रतिबद्धता जनाएँ भन्ने थाहा छैन ।
हुन त सुरुवाती घोषणा सरकारले प्रतिस्थापन बजेटमार्फत गरेको थियो । सोहीअनुसार मन्त्री चौधरीसहित प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चैतभित्रै उपत्यकावासीलाई मेलम्चीको पानी पिलाउने बताउँदै आएका छन् ।
तर, मन्त्रीको भाषणकै भरमा उपत्यकावासीले पानी प्रयोग गर्न पाउने कुरामा विश्वास गर्ने अवस्था नरहेको मेलम्ची खानेपानी आयोजनाका कर्मचारीको भनाइबाट प्रष्ट हुन्छ । चैत मसान्तमा पानी काठमाडौं ल्याउने गरी काम गरेको बताउने कर्मचारीहरु स्वयं पानी आउँछ नै भन्न सक्दैनन् । यसबारे उनीहरुलाई सोध्दा ‘सरकारको लक्ष्यअनुसार हामीले काम गर्दै छौं’ मात्रै भन्छन् ।
खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता ज्ञानप्रसाद ढकालका अनुसार चैत ८ गतेसम्म मेलम्चीको अस्थायी मर्मतको काम ८० प्रतिशत सम्पन्न भएको छ ।
तर, मेलम्ची खानेपानी आयोजनाका कर्मचारी भने तोकेकै समयमा पानी ल्याउन सकिनेमा विश्वस्त देखिँदैनन् । यद्यपि चैतसम्ममा सुरुङमा पानी हाल्न सकिने सम्भावना रहेको कर्मचारीको भनाइ छ ।
आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त पनि चैतभित्रै काठमाडौंवासीले मेलम्चीको पानी प्रयोग गर्न पाउँछन् भन्न सक्दैनन् ।
‘१५/१६ गतेतिर सुरुङमा पानी हालियो भने चैतको अन्तिमतिर काठमाडौं पुग्छ । तर, अहिले सुरुङ खाली गराउने काम हुँदैछ, निरीक्षण पनि गर्छौं ।’
‘गेट मर्मत गर्न कति समय लाग्छ त्यसमा भर पर्छ’, सूचना अधिकारी पन्तले भने, ‘हाम्रो लक्ष्य चैतसम्म सुरुङमा पानी हाल्ने हो ।’
आयोजनाको सुरुङको लम्बाई धेरै भएकाले पानी काठमाडौंमा आइपुग्न पनि एक हप्ता बढी समय लाग्ने उनको भनाइ छ ।
सेना फर्किने समय निश्चित हुन सकेन
अस्थायी रुपमा मेलम्ची आयोजना मर्मतको जिम्मेवारी यसअघि सुरुङ निर्माण गरेको सिनो हाइड्रो कर्पोरेसनले लिएको थियो ।
तर, आयोजनास्थलमा बाढीले ठुल्ठूला ढुंगा थुपारेकाले सिनोले एक्लै काम गर्न सकेन । जसकारण नेपाली सेनाले ढुंगा फुटाउने काममा सहयोग गरिरहेको छ ।
काठमाडौंबाट १४/१५ जना र मेलम्चीकै १२÷१३ जना सेनाले पुनर्निर्माण कार्यमा सहयोग गर्दै आएको आयोजनाका सिनयिर डिभिजन इन्जिनियर (सीडीई) पदम कुँवर बताउँछन् । उनका अनुसार ढुंगा फुटाउने काम लगभग सकिएको छ । ढुंगा फुटाउने लगायतका केही काम सिनो एक्लैले गर्न नसक्ने अवस्था आयो भने सहयोग गर्न भनी सेना मेलम्ची क्षेत्रमै बसिरहेको छ । हालसम्म करिब ४ सय ढुंगा फुटाइएको कुँवर बताउँछन् ।
सुरुङमा पहिले भरिएको पानी सफा गर्ने काम भइरहेको छ । ‘२÷३ दिन पानी फाल्न लाग्छ । त्यसपछि सुरुङभित्र क्षति भए/नभएको हेर्छौं र पानी हाल्छौं’, सीडीई कुँवरले भने, ‘तर, मेलम्चीबाट सुरुङमा पानी हालेको १२ देखि १५ दिनपछि मात्रै काठमाडौं पुग्छ ।’
मेलम्ची खानेपानीको सुरुङको लम्बाई २७ किलोमिटर लामो रहेको छ ।
बर्खा लागेसँगै फेरि मेलम्ची बन्द हुने
अस्थायी रुपमा मर्मत गर्न ३० करोड रुपैयाँ लाग्ने आँकलन गरिएको छ । यद्यपि हालसम्म खर्च भएको रकमको जानकारी आफूलाई नभएको सूचना अधिकारी पन्तको भनाइ छ । ३० करोड रुपैयाँ खर्चेर हुने पुनर्निर्माणको उपयोग भने मेलम्ची खोलामा धमिलो पानी नआएसम्म मात्रै हुनेछ ।
आयोजनाले सुरुङमा सुरक्षाको कारण देखाउँदै खोलामा धमिलो पानी आएपछि पानी पठाउने काम बन्द गर्ने जनाएको छ ।
पुनर्निर्माणको काम माघको दोस्रो साताबाट सुरु भएको हो ।
यसअघि २०७७ चैत १५ गते काठमाडौंमा मेलम्ची खोलाको पानी आएको थियो । चैतमा ल्याइएको पानी सुरुङ परीक्षणका लागि जेठ मसान्तबाट बन्द भयो । तर, असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०४७ सालमा सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौं ल्याउने योजना बनाएका थिए । उनको योजनाले मूर्तरुप पाउन ३ दशक बढी लाग्यो । तर, उनले काठमाडौंमा मेलम्चीको पानी आएको देख्न पाएनन् । २०५५ सालमा मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको थियो ।