झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बी एन्ड सी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्तत्वअन्तर्गत अस्पतालले पछिल्लो समय निःशुल्क स्वास्थ्य बिमा, विपन्न समुदायमा खानेपानी तथा खेतीपातीका लागि कल वितरण तथा विद्यालय भवन निर्माणमा सहयाेग गर्दै अाइरहेकाे छ ।
यसै क्रममा अस्पतालले गत सोमबार बाह्रदशी गाउँपालिकाका वडा न १, २, ३, ४, ५, ६ र ७ का १ हजार ५०० भन्दा बढी अतिविपन्न परिवारको निःशुल्क बिमा गरिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च प्राथमिकताप्राप्त बिमा कार्यक्रममा आर्थिक अभावकै कारण आबद्ध हुन नसकेका गरिब परिवारलाई कार्यक्रममा आबद्ध हुन लाग्ने शुल्क ३ हजार ५०० रुपैयाँ अस्पतालले सहयोग गरिदिएको हो ।
यसबाट ती नागरिकले बी एन्ड सी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट २ लाखसम्मको सेवा निःशुल्क पाउने जनाइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य उपचारको अभावमा कोहीले मृत्युवरण गर्नुनपर्ने बताए । 'स्वास्थ्य सेवाको सहज पहुँचका लागि म सहयोग गर्न सधैं तयार छु', उनले भने, 'बीमा भएपछि २ लाखसम्मको सेवा बी एन्ड सी तथा पूर्वाञ्चल क्यान्सर अस्पताललबाट उपलब्ध हुनेछ ।'
झापाको कर्णाली भनेर चिनिएको बाह्रदशीका नागरिकका लागि आफूले सेवा गर्न पाएकोमा खुसी लागेकाे उनकाे भनाइ थियाे ।