म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा खरविर–सिम्ले सिँचाइ योजनाको नहर निर्माण भएको छ ।
खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीको अनुदान सहयोगमा उपभोक्ता समितिले पक्की संरचना बनाएका हुन् । कार्यालयका सब-इञ्जिनियर अञ्जन खत्रीले ४५० मिटर पक्की नहर निर्माण भएको बताए ।
'म्याग्दीमा चालू आर्थिक वर्षमा सञ्चालित मध्य खरवीर–सिम्लेको नहर सबभन्दा छिटो निर्माण सकियो', उनले भने, 'उपभोक्ता समितिको सक्रियताका कारण लक्ष्यअघि नै नहर निर्माण भएको हो ।'
सो सिँचाइ योजना निर्माणका लागि खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीले चालू आर्थिक वर्ष २०७८/७९ मा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उपभोक्ता समितिले २ लाख २३ हजार बराबरको श्रमदान गरेर नहर बनाएको जनाएको छ ।
खरवी–सिम्ले सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भगवान केसीले शेरमा २७० मिटर र तल्लो शेरमा १८० मिटर नहर निर्माण भएको जानकारी दिए । स्थानीय मजदुर परिचालन गरेर सुरु गरेको २३ औं दिनमा योजना निर्माण सम्पन्न गरेको उनले बताए ।
सिँचाइ सुविधा भएपछि आकासे पानीको भरमा खेती गर्दै आएका कृषकहरुलाई राहत मिलेको छ । यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । धान गहुँ मकै, फलफूल र तरकारी खेती गर्न सहज भएको स्थानीय अनोज केसीले बताए ।
करिब ३ सय रोपनी जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खरवीरसँगै सिम्लेलगायतका फाटँका कृषकको मागअनुसार नहर निर्माणलाई पुर्णता दिन आगामी आर्थिक वर्षमा बजेटको लागि पहल गरेर सफल बनाउने योजना रहेको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।
खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था ओखरबोट, खौरटे, सिम्ले लगायतका क्षेत्रका कृषकको बाध्यता हट्ने अपेक्षा गरिएको छ । सिँचाइको अभाव हुँदा हिउँदे खेती गहुँ, आलुलगायतको खाद्यबालीमा मेहनतअनुसारको आम्दानी हुन सकेको थिएन ।