काठमाडाैं । हिजोदेखि भरतपुर चितवनस्थित एक्स्पो सेन्टरमा कृषि कर्जा मेला सुरु भएको छ ।
कृषि मेला उद्घाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एसिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए ।
मूल्य शृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनको भनाइ थियो ।
‘नबिल बैंकले दिगो बैंकिङ अघि बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ’, उनले भने, ‘हाम्रो उर्भर जमिन भोलि रहन्छ कि रहँदैन, भोलिका दिनमा सन्ततिको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो । जुन दिगो विकास हो ।’
उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबीसमेत गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । शाहले आफ्ने अनुभव सनाउँदै भने, ‘धेरै ठाउँमा जाँदा तपाईंहरु किसानलाई कर्जा दिनुहुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्याे, घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ’ उनले सुनाए ।
‘नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसँनसँग पठायौं । गाउँमा खेत त छ तर किसान साउदी, मलेसिया र जापानमा रहेछन् । जो किसान रहेछन् उनीहरुले पैसा रोपेर केही हँुदैन बिज चाहियो भन्ने रहेछन्’, बैंकर शाहले भने, ‘बिज भए पुग्छ भन्दा मल पनि चाहियो । बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भने गुनासो गरे । हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ, बिज, मल, पानी र बजारीकरण पनि चाहिने रहेछ भन्ने गुनासो आयो ।’
उनले बैंकहरु कर्जा दिन तयार भए पनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । ‘कर्जा दिन बैंक तयार छौं । तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै होइन तिर्ने मात्रै होइन त्यसबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ’, उनले भने, ‘नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अघि बढेको छ । हामी प्रतिबद्धता जनाउँछौं । तर, जबसम्म लगानी गरेको पैसाको सावाँ र पैसा फिर्ता आउँछ भनेर देखिँदैन लगानी गर्न समस्या हुन्छ ।’
मेला यही चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।