काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि औद्योगिक क्षेत्रमा बिजुली दिने भएको छ । प्राधिकरणले महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको हो ।
भारतमा बिजुलीको भाउ आकासिएपछि मंगलबारदेखि प्राधिकरणले आयात बन्द गरेको छ । अहिले औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति बन्द गरी गार्हस्थ्यलाई मात्र उपलब्ध गराइरहेको छ ।
आज बिहीबार भारतको बिजुली विनियम बजार (एक्चेन्ज मार्केट) मा प्राधिकरणले प्रतिस्पर्धा (बिड) गरी बिजुली किन्दैछ । भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्ममा किनेर ४०० मेगावाटसम्म बिजुली आयातको तयारी गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।
‘प्राधिकरणले आज युनिटको न्यूनतम २० भारु भन्दा बढी मूल्यमा बिजुली किन्न बिड गर्ने छ । यो दरमा पनि बिजुली नपाउने सम्भावना बढेको छ’, उनले भने ‘सकेसम्म यही दरमा ल्याउने तयारी छ । बिहीबार राति १२ बजेदेखि औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति बढाउनेछौं ।’
भारतबाट ल्याउने बिजुलीको भाउ प्रतियुनिट ३८ रुपैयाँ पर्ने उनले सुनाए । प्रसारण लाइन शुल्क, कर र चुहावटसमेत जोड्दा सो रकम लाग्ने प्राधिकरणको भनाइ छ । पछिल्लो समय प्राधिकरणले औसत ११.३३ पैसा भारु (१८ रुपैयाँ) मा बिजुली किन्दै आएको थियो ।
बुधबार प्राधिकरणले १५.२७ भारु (२४.४३ रुपैयाँ ) प्रस्ताव गर्दा बिजुली किन्न नपाएको प्रवक्ता भट्टराईले जानकारी दिए । आज महँगो दरमा बिजुली किन्न कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिइसकेकाले अब खरिद गर्ने उनको भनाइ छ ।
भोलिपल्टको बिजुली किन्न प्राधिकरणले एक दिनअघि बिड गर्नुपर्छ । बिहीबार बिड गरेको दरमा शुक्रबार मात्र बिजुली पाइन्छ । प्राधिकरणले दैनिक प्रतिस्पर्धामा भारतबाट बिजुली किनिरहेको छ । बिजुली खरिद बिक्रीका लागि भारतको विनिमय बजारमा ९६ वटा ब्लक छन् । विद्युत प्राधिकरणले ती ब्लकमा बिजुली किन्न प्रतिस्पर्धा गर्नुपर्छ ।
भारतमा बिजुलीको भाउ न्यूनतम सीमा २० रुपैयाँ भारु तोकिएको छ । बिजुली आपूर्ति बन्द भएपछि भारतमा कतिपय उद्योग बन्द भएको उनले जानकारी दिए । बिहारकाे आफ्नो उत्पादन नभएकाले त्यहाँ पनि समस्या परेको छ ।
साँझको समयमा बिजुलीको माग १६०० मेगावाट छ । पछिल्लो महिना भारतमा बिजुलीको भाउ आकासिएको छ । प्राधिकरणले ४.५० देखि ६.१२ भारुसम्म बिजुली किन्दै आएको थियो । भारतमा बिजुली महँगो भएपछि यसको असर आपूर्तिमा परेको हाे ।
भारतको एक्सचेन्ज मार्केटमा मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि बिजुली आयात गर्न नसकेको उनको भनाइ छ । एक्सचेन्ज मार्केटबाट बिजुली किन्नु परेपछि महँगो भएको र महँगोमा किनेर सस्तोमा बेच्दा प्राधिकरणले धान्न नसक्ने अवस्था आएको उनले जानकारी गराए ।
यता भारतमा पनि बिजुलीको माग २५ प्रतिशतले बढेको छ । उत्पादन बढ्न नसक्दा भने बिहारले पनि उपलब्ध गराउन सकेको छैन । भारतमा ८० प्रतिशतभन्दा बढी बिजुली कोइला प्लान्टबाट उत्पादन हुने गरेको छ । नेपालले ५० मेगावाट मात्र सस्तो दरमा आयात गरिरहेको छ ।
रसिया र युक्रेन युद्धका कारण कोइला आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएपछि यसको भाउ कासिएको छ । काेइलाको मूल्य आकासिएपछि अहिले बिजुलीको भाउ महँगो हुन गएको हो ।
भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्णक्षमतामा चलाउँदै आएको छ । यी आयोजनाबाट दिउँसाे कम बिजली उत्पादन हुने गरेको छ ।
अहिले प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११, निजी उत्पादनकबाट ३१० मेगावाट आपूर्ति भइरहेको छ । भारतबाट आवश्यकताअनुसार ४०० मेगावाटसम्म बिजुली आयात हुने गरेको छ ।