काठमाडौं । युवापुस्ताको पहिलो प्राथमिकतामा पर्छ सरकारी जागिर । अझ मध्यम वर्गीय परिवारबाट सरकारी सेवामा लाग्ने एउटा सपना नै हुन्छ । तर, यस्तो सपनालाई बेवास्ता गर्दै कृषिमा होमिएका व्यक्ति हुन् सिन्धुली गोलन्जोर गाउँपालिकाका चूडाराज शर्मा ।
नेपाल कृषिप्रधान देश हो, भनिरहनु पर्दैन । त्यसमा पनि सिन्धुली जिल्लामा कृषि पेसा खासै नौलो विषय होइन । यद्यपि पढे–लेखेका युवापुस्ता नै कृषिमा लाग्नु भनेको केही नौलो पक्कै हो ।
उमेरले ५४ हिउँदा काटिसकेका शर्माको परिवार पनि व्यावसायिक जुनार खेतीमा संलग्न छ । सिन्धुली जिल्लाको खनियाखर्कमा रहेको ‘पहाडी फलफूल नर्सरी’ विसं. २०३२ सालमा स्थापना भएको हो ।
जुनारका पिता भनेर चिनिने भोजराज सापकोटाले स्थापना गरेको उक्त नर्सरीमा, स्क्रिन हाउसभित्र अमिला जातका फलफूलहरु; जुनार, सुन्तला, मुन्ताला, कागती, निबुवा, हलुवावेद, नास्पती, अनार आदिका बिरुवा उत्पादन हुँदै आएका छन् । यीमध्ये मुख्य उत्पादन जुनार र सुन्ताला हो ।
जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विसं. २०३९ मा विजु बिरुवाको सट्टा सेती ज्यामिरमा कलमी गरिएका बिरुवामा खेती सुरु भए पनि राम्रो नतिजा आएन । नआएकाले त्यसपछि ०४५/४६ देखि तीनपाते सुन्तालामा कलमी गरिएका बिरुवावाट खेती सुरु गरिएको शर्मा बताउँछन् ।
चूडाराजका बुबा भोजराजले २०३२ सालदेखि नै व्यावसायिक रुपमा जुनारका बेर्ना उत्पादन गर्दै आएका हुन् । ‘म सानु हुँदादेखि नै बुवाले बेर्ना तयार गर्नुभएको थियो’, उनी भन्छन्, ‘तर, आधिकारिक रुपमा दर्ता २०६८ सालमा गरेका हौं ।’
शिक्षण पेसा छाडेर पूर्णरुपमा कृषक हुनु शर्माको बाध्यता होइन, रहर हो । गाउँकै एक निम्न माध्यमिक विद्यालयमा अस्थायी शिक्षक रहेका उनी आफ्नै रहरले कृषिमा लागे । परम्म्परागत तरिकाबाट जुनारका बेर्ना उत्पादन गर्दै आएका बुबाको कृषि पेसालाई शर्माले निरन्तरता दिएका हुन् ।
‘जुनारका बेर्ना उत्पादन गर्नु मेरो आफ्नै रहर हो । बुबाले पनि यही खेती गर्दै आएकाले सहज पनि भयो’ उनले सुनाए ।
२०३२ सालदेखि निरन्तर बेर्ना उत्पादन गर्दै आएको शर्मा परिवारले रामेछाप, धनकुटा, बैतडी, डोटी, डेडलधुरा, ओखलढुंगा, लमजुङ, पाल्पा, रुकुम, दैलेख, इलाम, तेह्रथुम, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायतका जिल्लामा आफ्ना उत्पादन पुर्याएको छ ।
शिक्षण पेसामा रहँदा सीमित घेराभित्रै मात्रै हुने र विद्यार्थीभन्दा बाहिरको मान्छेसँग धेरै संगत गर्न नपाइने कारणले पनि शिक्षणभन्दा कृषिमा भविष्य राम्रो देखेको शर्मा बताउँछन् ।
‘राजनीति शास्त्र पढेर शिक्षण पेसामा लागेको थिएँ । तर, ६ वर्ष मात्रै अध्यापन गरें’, उनले सुनाए, ‘आफ्नै रहरले सरकारी जागिर छोडेर बेर्ना उत्पादनमा लागेको हुँ ।’ हाल उनको फार्ममा वार्षिक १० हजारसम्म बिरुवा तयार हुन्छन् ।
सिन्धुलीमा स्क्रिन हाउस भित्र्याउने किसान
सिन्धुलीमा पहिलोपटक व्यक्तिगत फार्ममा स्क्रिन हाउस (जाली घर) आफूले भित्र्याएको शर्माको दाबी छ । हाउसले बिरुवालाई कुनै पनि रोग लाग्नबाट बचाउँछ । मुख्यतया स्ट्रिस सिल्ला नामक किरा (बिरुवा टुप्पोबाट मर्ने रोग) लाग्नबाट बोटबिरुवा जोगाउनका लागि स्क्रिन हाउस निर्माण गर्ने गरिन्छ ।
सामान्यतया १ हजार मिटरभन्दा कम उचाइमा मात्रै उक्त किराले बिरुवालाई आक्रमण गर्ने भए पनि अन्य रोगबाटसमेत जुनार खेतीमा क्षति नपुगोस् भनी आफूले स्क्रिन हाउस बनाएको शर्माको भनाइ छ ।
वार्षिक १२ लाख बढी आम्दानी
शर्माले यस वर्ष आफूले तयार पारेका बिरुवाको पीसीआर परीक्षण गराए । ‘यो वर्ष २० बिरुवाको पीसीआर परीक्षण गरेका थियौं । कुनै रोग भेटिएन’ शर्माले भने । शर्माको नर्सरीबाट उत्पादन हुने प्रत्येक बिरुवा सरकारी दररेटअनुसार बिक्रीवितरण हुने गरेका छन् । जसअनुसार प्रतिबिरुवा १२५ पर्छ ।
हाल उक्त नर्सरीबाट ९/१० हजार बिरुवा तयार हुन्छन् । यसरी शर्मा परिवारले बेर्ना उत्पादन गरेरै वार्षिक १२ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएको छ ।
एउटा स्क्रिन हाउस निर्माण गर्न २० लाख
हाल शर्माको फार्ममा ३ वटा स्क्रिन हाउस छन् । २०० स्क्वाएर मिटरको हाउस निर्माण गर्न २० लाख रुपैयाँ लाग्ने उनी बताउँछन् । तर, उनले सबै हाउस निर्माण गर्न एकल लगानी गरेनन् । यसमा उनलाई सरकारले सहयोग गर्यो । जसले गर्दा आर्थिक भार पनि कम भयो ।
३ पुस्ताको निरन्तरता जुनार खेतीमा
शर्मा परिवारले सिन्धुलीमा जुनार प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । भोजराजलाई सिन्धुलीबासीले ‘जुनारका पिता’ उपनामले समेत चिन्ने गरेका छन् ।
यिनै जुनारका पिताका छोरा चूडाराज शिक्षण पेसा छाडेर जुनार खेतीमा लागे भने उनका छोरा विकास शर्मा बिएस्सी एग्रिकल्चर पढ्दैछन् । हजुरबुवाले परम्परागत रुपमा गरिरहेको जुनार खेतीलाई बुवाले आधुनिक रुप दिए । अब विकासले भने त्यसलाई थप सुदृढ बनाउने योजनामा छन् ।
२३ वर्षका विकास पनि हजुरबुवा र बुबाले गरिरहेकै जुनार प्रवर्धनका साथसाथै अन्य फलफूल खेती गर्ने योजना रहेको सुनाउँछन् । ‘जुनार, सुन्ताला, मुन्ताला, कागतीलगायत अन्य फलफूलका बेर्ना बनाउने र टिस्यू कल्चर अर्थात् अत्याधुनिक प्रविधि भित्र्याउने योजना छ’ उनले सुनाए ।
साथै व्यावसायिक रुपमा जुनार खेती गर्दा रोपेको ५–६ वर्षपछि राम्रो आम्दानी दिने र पछिल्ला वर्षमा सामान्य मलपानी पुर्याउँदा पनि ३०–४० वर्षसम्म उत्तिकै आम्दानी हुने विकासको अनुभवले बताउँछ । थोरै लगानी र परिश्रमिकबाट पनि आफ्नो जीवनकालमा राम्रो प्रतिफल पाइने भएकाले आफू यस खेतीमा लाग्ने उनको भनाइ छ ।
‘मेरो बुझाइमा जुनारबाट बुढेसकालमा पनि राम्रो आम्दानी लिन सकिन्छ । जुन एउटा सरकारी कर्मचारीको पेन्सनभन्दा राम्रो हो’ उनले भने ।
विकासका बुवा पनि छोराले एग्रिकल्चर पढेकामा सन्तुष्ट देखिन्छन् । चूडाराज भन्छन्, ‘छोराले पनि एग्रिकल्चर पढ्न रहर गर्यो । हामीले पनि यसमै राम्रो हुन्छ भन्यौं । अरु विषय पढेर जागिर पाइएन भने दुःख पाइन्छ । तर, एग्रिकल्चर पढेर आफैं व्यावसायिक खेती गर्न सकिन्छ ।’
‘स्वस्थ र गुणस्तरीय बिरुवा उत्पादन’ गर्दै आएका शर्मालाई ग्राहकको माग धान्न धौ–धौ छ । स्वदेशमै बसेर राम्रोसँग खेती गर्ने किसानलाई आफूहरुले बेर्ना दिने बताउँछन् ।
‘बेर्ना सारेर बेवास्ता गर्नेलाई दियो भयो राम्रा किसानले खेती गर्न पाउँदैनन्’ यो भनाइले चूडाराजको कृषिप्रतिको लगावलाई थप प्रस्ट्याउँछ ।