काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी यही शुक्रबार दुई दिने नेपाल भ्रमणमा आउँदैछन् । विदेशमन्त्री वाङ नेपाल आउने भएपछि लामो समयदेखि अवरुद्ध रसुवागढी र तातोपानी नाका खुल्ने अपेक्षा गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मी दुई देशबीच लगानी र व्यापारको विषयमा छलफल हुने बताउँछन् । यद्यपि मन्त्रालयमा छलफल हुने एजेन्डा अहिलेसम्म तयार भइसकेको छैन । परराष्ट्र मन्त्रालयले आपूर्ति मन्त्रालयसँग छलफलमा राख्ने एजेन्डा माग गरे पनि विवरणपत्र तयार गरी नसकेको प्रवक्ता रेग्मीले बताए ।
कोरोना महामारी सुरु भएपछि नियन्त्रण गर्न सन् २०२० को सुरुवातमै विश्वका अधिकांश देशले आफ्नो सीमानाका बन्द गरेका थिए । सोही समयमा चीनले पनि नेपालसँगका सबै नाका बन्द गरेको थियो ।
तर, अहिले कोरोना महामारी कम हुँदै गए पनि उत्तरी नाका खोल्न भने चीन अझै अनिच्छुक छ । कोराना महामारी सुरु भएयता चीनले नेपाललाई अघोषित नाकाबन्दी गर्दै आएको छ ।
नेपाली व्यवसायीले खरिद गरेको अर्बौं रुपैयाँको सामान सीमा नाकामै थन्किएको छ । दसैं–तिहारको समयमा उत्तरी नाकामा झन्डै २ हजार कन्टेनर रोकिएका थिए । उक्त समयमा रसुवागढी नाकाबाट दैनिक ९ वटा र तातोपानी नाकाबाट दैनिक ७ वटा कन्टेनर मात्रै भित्रिने गरेकामा गत बुधबारदेखि भने १४ वटा कन्टेनर भित्रिन थालेको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए ।
दसैं तिहारलाई लक्षित गरी ल्याइएको सामान समयमा नआएपछि अहिले धेरै व्यापारीले आयात गर्न छाडिसकेको निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए । ‘उनीहरुले चाहेअनुसार मात्र सामान नेपाल पठाइरहेका छन् । झन् निर्यात त एक कन्टेनर पनि हुन सकेको छैन’ उनले सुनाए ।
सीमामा देखिएको समस्याका विषयमा उद्योग वाणिज्य महासंघ र आफैं पनि मन्त्रालयमा पुगेर समस्या राखे पनि हालसम्म समाधान हुन नसकेको संघका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘लागत र समय कम लाग्ने हुँदा साना व्यापारीहरुलाई सहज हुने उत्तरी नाका सुचारु गर्नु पर्छ’, उनले भने, ‘दुवै देशका नाकाको क्षमताअनुसार आउन सक्ने कन्टेनरमा एकरुपता हुनुपर्छ ।’
श्रेष्ठका अनुसार अहिले २ वटा नाका मात्रै सञ्चालनमा छन् । अन्य नाका पनि खुले दुई देशबीचको सम्बन्ध अझ बलियो हुनेछ ।
नेपालबाट आयात बन्द गर्नु तर चिनियाँ सामान उनीहरुले चाहेअनुसार पठाउनु गैरभन्सार अवरोध भएको प्रा.डा विश्वम्भर प्याकुर्याल बताउँछन् । यस्तो हुनुमा राजनीतिक कारण हुन सक्ने उनको भनाइ छ ।
‘व्यापारको अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार अवरोध गर्न मिल्दैन’, उनले भने, ‘उताको सामान आउन सक्ने र यताको सामान जान नसक्नाको कारण खुलाउनुपर्छ । गुणस्तर कम भयो कि मूल्य मिलेन ? स्पष्ट भन्नुपर्छ रसरकारले त्यहीअनुसारको कम गर्नुपर्छ ।’
सरकारले निजी क्षेत्रलाई सहयोग गर्छु भन्ने तर अप्ठ्यारो परेका बेला जेसुकै गरोस् भनेर छाड्न नमिल्ने उनको भनाइ छ ।
व्यापारीहरुले पटक–पटक उत्तरी नाकालाई सहज बनाउनुपर्ने भन्दै सरकारसँग माग गरे पनि सहज हुन सकेका छैन । चीनमा कोरोनासम्बन्धी प्रोटोकल कडाइका साथ पालन गरिएकाले सामान निर्यात गर्न नसकिएको तथा आयातमा पनि समस्या भएको बुझाइ मन्त्रालयको छ ।
चीन विश्वको सबै भन्दा ठूलो निर्यातक देश हो । सन् २०२० मा मात्रै चीनले विश्व बजारमा २७ खर्ब ३२ अर्ब डलर बराबरको वस्तु निर्यात गरेको थियो । जुन विश्व निर्यातको १८.५ प्रतिशत हिस्सा हो । अमेरिकालगायत अन्य विकसित मुलुकहरुको व्यापारघाटा उच्च भएका बेला चीनको व्यापार सधैं बचत हुने गरेको छ ।
यस्तो छ चीनसँग नेपालको व्यापारिक सम्बन्ध
उत्तरी छिमेकी नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार देश हो । चालू आर्थिक वर्षको ८ महिनासम्म चीनबाट १ खर्ब ८६ खर्ब १५ करोड ९१ लाख रुपैयाँको वस्तु आयात हुँदा ५४ करोड ५८ लाख रुपैयाँको मात्र वस्तु निर्यात भएको छ ।
त्यस्तै गत आर्थिक वर्षमा २ खर्ब ३३ अर्ब ९२ करोडको वस्तु चीनबाट आयात भएको थियो भने ५ अर्ब ५१ करोड १४ लाख रुपैयाँ बराबरको वस्तु निकासी भएको थियो ।
नेपालबाट कार्पेट, मूर्ति, तयारी पोसाक, रुद्राक्ष, ग्रिन टी, कफी, छालाका वस्तु, हाते कागज, महिला र बच्चाका कपडा, सल, मफलर, बाजागाजा लगायतका वस्तु चीनमा निर्यात हुने गरेका छन् ।
यस्तै चीनबाट सबभन्दा बढी मोबाइल आयात हुने गरेको छ । त्यस्तै स्याउ, ल्यापटप, भ्याक्सिन, विद्युतीय गाडी, राउटर, भेडा, लसुन, गहुँ, बीउ, स्विट्स, बिस्कुट, जुत्ता, लत्ताकपडालगायतका वस्तु आयात हुने गरेको छ ।