विराटनगर । विराटनगरको हाटखोलामा आरोहण गुरुकुलको नवनिर्मित नेपाल–भारतमैत्री भवनको मंगलबार उद्घाटन गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आरोहण गुरुकुलका केन्द्रीय अध्यक्ष सुनिल पोखरेल, नेपालका लागि भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतलगायतले भवनको उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पराजुलीले नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको बताए । उनले भारतसँग नेपालको जनस्तरमै सम्बन्ध रहेको चर्चा गरे । भारतले नेपाललाई विगतदेखि नै सहयोग गर्दै आएको मेयर पराजुलीको भनाइ थियो ।
दूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले सम्झौताअनुसार नै अत्याधुनिक भवन निर्माण भएकोमा खुसी व्यक्त गरे । भवन निर्माणका लागि सन् २०१६ मा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो भने २०१७ जुनदेखि निर्माण सुरु भएको थियो ।
३ करोड २३ लाख भारत सरकारको अनुदान र विराटनगर महानगरपालिकाको २८ करोडसहित ३ करोड ५१ लाख कूल बजेटमा भवन निर्माण सम्पन्न भएको महानगरका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले जानकारी दिए ।
भारत सरकारको आर्थिक अनुदानमा निर्मित भवनमा ४ सय दर्शक अटाउन सक्ने क्षमता रहेको छ । ३ करोड ५१ लाख रुपैयाँमा निर्मित भवनको विराटनगरस्थित खुश्बु निर्माण सेवा कम्पनीले निर्माण गरेको हो ।
वातानुकूलितसहित भवनमा कन्ट्रोल रुम, मेकअप रुम, स्टोर, हलभित्रै शौचालयलगायत सुविधासमेत रहेको इन्जिनियर घनश्याम काफ्लेले जानकारी दिए । गुरुकुलको यसअघि २ सय २५ दर्शक अट्ने भवन निर्माण भइसकेको थियो ।