काठमाडौं । सेयर बजारमा बुधबार करेक्सन देखिएको छ । नेप्से सूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि करिब २ अर्ब रुपैयाँमा खुम्चिएको छ । यस दिन नेप्से सूचक २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा अडिएको छ । यसअघि २ दिन लगातार अपट्रेन्डमा गएको नेप्से बुधबार भने केही घटेको छ । बजारले यसअघि २६ सयलाई बटम बनाएर फर्किएको थियो । तर त्यसयता पनि सूचक खासै धेरै माथि जान भने सकेको छैन ।
दुई दिनसम्म दोहोरो अंकले वृद्धि भएको बजारमा निकै थोरै मुनाफामा खेल्ने अल्पकालीन कारोबारी हावी हुँदा बिक्री दबाब परेको हो । सूचक २६ सय माथि टिकिरहँदा टर्नओभर खासै आकर्षक छैन । कारोबार रकमले साथ नदिएकाले बजार दरिलो हुन नसकेको विश्लेषकहरुको भनाई छ । बजारले माथिल्लो यात्रा तय गर्नका लागि सूचकसँगै कारोबार रकममा पनि क्रमशः तेजी आउनुपर्ने हुन्छ ।
त्यसो त बजार खासै तल झर्न पनि मानिरहेको छैन । किन भने नेप्से सूचक घटेका बेला खरिदबिक्री रकम अझै कम हुने गरेको छ । यसको अर्थ अब थप मूल्य घटाएर प्यानिक सेल गर्ने अवस्थामा पनि लगानीकर्ता देखिएका छैन । सेयर बजारमा विस्तारै सिजन सुरु हुँदैछ । वैशाख लागेपछि कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउनेछ । स्थानीय निकायको निर्वाचन पनि नजिकिंदैछ । यस्तै, सरकारले खर्च गर्नेक्रम अब बढ्दै जानेछ ।
यसर्थ, बैंकिङ प्रणालीमा पनि तरलता सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ । जसका कारण बजारले विस्तारै बुलिस मोमेन्टम समाउने एकाथरी लगानीकर्ताहरुको आँकलन छ । यता, प्राविधिक विश्लेषकहरुले पनि बजारले करेक्सन चक्र पार गर्नै लागेको बताइरहेका छन् । वित्तीय प्रणालीमा तरलता संकुचन भएकाले करेक्सन साइकल लामो भएको उनीहरुको भनाई छ ।
तथापि, बजार खासै तल झर्न पनि नमानेकाले एउटा सकारात्मक समाचारको पर्खाई नेप्सेले गरिरहेको उनीहरुको बुझाई रहेको छ । बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ ।
यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । यस दिन २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । २२६ कम्पनीको ३९ लाख ८५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।
१३ मध्ये २ वटा बाहेक बाँकी सबै समूह राता भएका छन् । ८ करोड ४१ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जीवन विकास लघुवित्त र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।