काठमाडौं । भारतमा बिजुलीको भाउ आकासिएपछि मंगलबारदेखि आयात बन्द भएको छ । आयात बन्द भएपछि नेपाल विद्युत प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति बन्द गरेर गार्हस्थ्यलाई मात्र उपलब्ध गराइरहेको छ ।
भारतमा बिजुलीको भाउ न्यूनतम सीमा २० रुपैयाँ भारु तोकिएको छ । यसको मूल्य नेपालमा प्रतियुनिट ३२ रुपैयाँ पुग्छ । चुहावट, प्रसारण लाइन शुल्क र कर गरी भारतीय बिजुलीको भाउ नेपालमा आउँदा युनिटको ३५ रुपैयाँ पुगेको छ ।
साँझको समयमा बिजुलीको माग १५४० मेगावाट छ । पछिल्लो महिना भारतमा बिजुलीको भाउ आकासिएको छ । प्राधिकरणले ६.१२ भारुसम्म बिजुली किन्दै आएको थियो । भारतबाट साँझमा ६०० मेगावाटसम्म बिजुली आयात भइरहेकामा अहिले लगभग बन्दजस्तै भएको छ । भारतमा बिजुली महँगो भएपछि यसको असर आपूर्तिमा परेको प्राधिकरणका प्रवत्ता सुरेश भट्टराईले बताए ।
भारतको एक्सचेन्ज मार्केटमा मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि बिजुली आयात गर्न नसकेको उनको भनाइ छ । एक्सचेन्ज मार्केटबाट बिजुली किन्नु परेपछि महँगो भएको उनको भनाइ छ । प्राधिकरणले १० भारुसम्म प्रतिस्पर्धामा भाग लिएको छ । तर, सो दरमा उसले बिजुली किन्न पाएन र आयात बन्द भएको उनले स्पष्टपारे । अहिले प्राधिकरणले औसतमा भारु ११.२३ भारु (१७.९६ रुपैयाँ) छ ।
भारतीय बजारमा एक्सचेन्ज मार्केट (प्रतिस्पर्धा) बाट बिजुलीको कारोबार हुने गरेको छ । प्राधिकरणले हालेको दरमा बिजुली नपाएपछि आपूर्ति बन्द भएको भट्टराइको भनाइ छ । यता भारतमा पनि बिजुलीको माग २५ प्रतिशतले बढेको तर आपूर्ति बढ्न नसक्दा बिहारले पनि उपलब्ध गराउन सकेको छैन ।
बिहारबाट सस्तो दरमा प्राधिकरणले बिजुली आयात गर्दै आएको छ । रसिया र युक्रेन युद्धका कारण कोइला आपूर्ति बन्द भएको छ । कोइला आपूर्ति बन्द भएपछि यसको भाउ आकासिएको छ । कोइलाको मूल्य आकासिएपछि अहिले बिजुलीको भाउ महँगो हुन गएको हो ।
भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्णक्षमतामा सञ्चालन हुँदै आएको छ । मुज्जफपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट मात्रै ४०० मेगावाटसम्म बिजुली आयात हुने गरेको छ ।