काठमाडौं । गैरकानुनी धन्दा गरिरहेका दिपेन्द्र अग्रवालले गोल्डम्यान कम्पनीमार्फत अमेरिकन अर्बपति वारेन बफेट बन्ने सपना देखेका छन् ।
अर्बपति बफेटको हैसियतमा पुग्न उनले नेपाल धितोपत्र बोर्डमा आफ्नो कम्पनीको सेयर सूचीकृत नै नगरी संस्थापक सेयरधनीका नाममा जथाभावी रकम उठाइरहेका छन् ।
आफ्नो कम्पनीको वेबसाइटमा न्यूनतम १० लाख रुपैयाँ बराबरको सेयर लगानीका लागि खुला आव्हान गरिएको छ । यति मात्रै होइन, उनले कम्पनीको १० वर्षको नाफा तथा प्रतिफल योजना सार्वजनिक गरेर ५०० प्रतिशतसम्म लाभांश वितरण गर्नेे सामग्रीसमेत सामाजिक सञ्जालमा अपलोड गरेर प्रचारप्रसार गरिरहेका छन् ।
नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रमा ५० वटा कम्पनी स्थापना गरी आगामी १० वर्षमा २.५ खर्बको कम्पनी बनाउने भन्दै लगानीकर्ता झुक्काएर सेयर बजारमा लगानीका लागि रकम उठाइरहेका हुन् ।
यी सबै काम गैरकानुनी हुँदाहुँदै पनि धितोपत्र बोर्डले उनीमाथि न छानबिन गर्ने आँट गरेको छ, न यसतर्फ कुनै चासो नै दिएको छ ।
अहिले बोर्ड कसरी अनुसन्धान अघि बढाउने भन्ने दोधारमा देखिन्छ । लगानीकर्तालाई प्रभावमा पारी पैसा उठाउन दीपेन्द्र अग्रवाल आफूले कुनै पनि गलत काम नगर्ने र आफ्नो सपना अमेरिकी लगानीकर्ता बफेटको जस्तो भएको बताउँदै आएका छन् ।
‘हामीले विभिन्न ५० कम्पनी स्थापना गरेर करिब ३ वर्षमा ५ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरेका छौं । उक्त मोडलबाट प्राप्त हुने पुँजीगत लाभका आधारमा आम्दानी गर्छौं’, उनलेभ भने, ‘यस्तै खालको मोडलमा बफेटले हाथवेजस्तो विशाल कम्पनी खडा गरेका थिए । र, हाम्रो सपनामा पनि त्यस्तै हो ।’
सर्वसाधारणसँग कुनै रकम नउठाएको तर एउटा समूह बनाएर उठाइरहेको उनको भनाइ छ । ‘हामीले क्लोज ग्रुपअन्तर्गत केही साथीभाईसँग संस्थापक सेयर बिक्रीका लागि मात्रै रकम उठाएका हौं । सर्वसाधारणसँग पैसा उठाएका छैनौं’ उनले भने ।
धितोपत्र बोर्ड भने यसरी जथाभावी रकम उठाउनु गैरकानुनी भएको र यसबारे छानबिन गरिने बोर्डका प्रवक्ता नीरज गिरी बताउँछन् । उनका अनुसार यस्तो क्रियाकलाप वित्तीय अपराधसमेत हो ।
‘धितोपत्र बोर्डमा सूचीकृत नभई कुनै पनि कम्पनीले सर्वसाधारणसँग रकम उठाउन पाउँदैन’ गिरी थप्छन्, ‘५० जनाभन्दा कम लगानीकर्ताले गोप्य रुपमा पुँजी जुटाउन धितोपत्रसम्बन्धी ऐनले छुट दिएको छ । तर, सामाजिक सञ्जाल, सर्वसाधारण वा कुनै प्रचार सामग्री निर्माण गरी लगानी उठाउनु गैरकानुनी काम हो ।’
गोल्डम्यानले गरेको काम गैरकानुनी भएकाले यस कम्पनीमा लगानी नगर्न उनले सर्वसाधारणलाई समेत सुझाएका छन् ।
गिरीका अनुसार बोर्डले समिति गठन गरी अनुसन्धानको प्रक्रिया अघि बढाउने गर्छ । अहिले अनुसन्धानका लागि आवश्यक कागजात संकलन गर्ने काम भइरहेको छ ।