काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानीमार्फत भारतसँगको व्यापारघाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ । भारतका लागि नवनियुक्त राजदूत शर्मासँग भएको भेटवार्तामा चेम्बरले जलविद्युत् क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि जलविद्युत् तथा सेवा क्षेत्रमा भारतीय लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए ।
‘समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । निर्यातको हिस्सा पनि सबैभन्दा धेरै भारतसँगै ७५ प्रतिशत छ । चालू आर्थिक वर्षको ८ महिनामै व्यापारघाटा ६ खर्ब ७९ अर्ब रुपैयाँ पुगिसकेको छ’, मल्लले भने, ‘व्यापारघाटा कम गर्ने एक मात्रै विकल्प भारतीय लगानीमार्फत उत्पादन वृद्धि र पर्यटन आवागमन बढाउनु हो ।’
भारतमा रहेका १ अर्ब ३८ करोड जनसंख्याको शून्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपाल भ्रमणमा ल्याउन सक्ने हो भने नेपालले धरै फाइदा लिन सक्ने अध्यक्ष मल्लको भनाइ छ ।
त्यस्तै राजदूत शर्मासंग अध्यक्ष मल्लले निर्यात सहजीकरण गरीदिन पनि आग्रह गरेका छन् । उच्चस्तरीय क्वारेन्टिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयात÷निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष मल्लले राजदूत शर्माको ध्यानकर्षण गराए ।
चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धर्मा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्टमा नेपाली व्यवसायीले अनावश्यक दुःख पाइरहेको गुनासो गरेका थिए । नेपाली सामान बोकेका कन्टेनर लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजीकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका थिए ।
जवाफमा राजदूत शर्माले व्यापारघाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको बताउँदै क्वारेन्टिन ल्याब स्थापनका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
नेपाल–भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउन आफूले पहल गर्ने राजदूत शर्माको भनाइ छ ।