काठमाडौं । बहुराष्ट्रिय कम्पनीहरू; बोटलर्स नेपाल, रोयल क्राउन, वरुण बेभरेजलगायतका कम्पनीहरूले चिनीको भन्सार महसुलदर, अन्तःशुल्क घटाउन र सामाजिक उत्तरदायित्व (सीएसआर) बापत जम्मा गर्नुपर्ने रकम मिनाहाका लागि लबिङ गरिरहेका छन् ।
फ्रेन्चाइज कम्पनी भएकाले नेपालमा उत्पादित चिनी प्रयोग गर्न नमिल्ने भन्दै चिनीको भन्सार महसुल घटाउन ती कम्पनीहरुले लबिङ गरिरहेका हुन् ।
कम्पनीको उत्पादनमा लाग्दै आएको प्रतिलिटर १४ रुपैयाँ अन्तःशुल्क घटाएर ६ रुपैयाँ कायम गर्न उनीहरुले फाइल बोकेर अर्थ मन्त्रालयका विभिन्न निकाय धाइरहेका छन् ।
औद्योगिक व्यवसाय ऐन २०७६ ले अनिवार्य रुपमा सीएसआरअन्तर्गत नाफाको १ प्रतिशत रकम प्रत्येक वर्ष सामाजिक कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ । उक्त रकम खर्च नगरेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको दैविक प्रकोप तथा राहत कोषमा १.५ प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था सो ऐनमा छ ।
कोकाकोला, पेप्सीलगायतका कम्पनीले कोभिड १९ लाई कारण देखाउँदै सीएसआरको रकम विगत २ वर्षदेखि खर्च गरेका छैनन् । यी कम्पनीले सीएसआरबापतको रकम आम्दानीबाट खर्च बुक गरिसकेका हुन्छन् । यस्तो रकममा कर लाग्दैन । एकातिर खर्चको रूपमा आम्दानीबाट घटाउने तर, सामाजिक क्षेत्रमा खर्च नगर्ने कम्पनीले उल्टै मिनाहाका लागि सरकारसँग लबिङ गर्न थालेका छन् ।
एकै पटक नाफाको ३ प्रतिशत रकम सीएसआरमा जम्मा गर्नुपर्ने देखिएपछि सो रकम मिनाहाका लागि उल्लिखित कम्पनीहरुले लबिङ गरिरहेको अर्थमन्त्रालय स्रोत बताउँछ ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले कोभिड १९ प्रभावित श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जाने २ महिनाको रकम जम्मा गरिदिनसमेत ती कम्पनीले अर्थ मन्त्रालयलाई आग्रह गरेका छन् ।
मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले अहिले अर्थतन्त्र दबाबमा रहेकाले यसबारे थप छलफल आवश्यक रहेको भन्दै उनीहरुलाई फिर्ता पठाएको छ ।
उनीहरुले भन्सार महसुल नघटाए पनि अहिलेको आफ्नो उत्पादनमा प्रयोग हुने चिनीको भन्सार महसुल ४० प्रतिशतलाई यथावत् राखिदिन भन्दै अर्थमन्त्री तथा प्रधानमन्त्रीसम्म लबिङ गरिरहेको बुझिएको छ ।
‘केही महिनाअघि नेपाल सरकारका अवकाशप्राप्त एक पूर्वसचिव नै यस काममा लाग्नु भएको छ’, अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘नेपालको चिनी प्रवर्धन गर्ने उद्देश्यले सरकारले करदर बढाएको हो । अहिले घटाउन सक्ने अवस्थामा पनि छैन । सहसचिवज्यूहरुभन्दा माथिबाट पनि उहाँहरुले लबिङ सुरु गर्नुभएको छ ।’