काठमाडौं । कोरोना भाइरसको प्रभाव विस्तारै कम हुँदै गएको र सरकारले स्वास्थ्य प्रोटोकल खारेज गरेपछि काठमाडौंका होटल भरिभराउ हुन थालेका छन् ।
साढे २ वर्षदेखि अस्तव्यस्त रहेका होटलहरु यतिखेर शतप्रतिशत अकुपेन्सीमा छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्रै १९ हजार ७६६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा १६ हजार ९७५ जना विदेशी पाहुना नेपाल आएका थिए ।
एक महिनाकै बीचमा नेपालमा झन्डै ३ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालको भुक्तानी सन्तुलन बिग्रिँदै गइरहेका बेला पर्यटक आवागमन बढ्नुले सकारात्मक सन्देश दिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भुक्तानी सन्तुलन २ खर्ब ४७ अर्ब रुपैयाँले घाटामा छ ।
केन्द्रीय बैंकले लिएको आयात कडाइ नीतिले खासै काम नगर्दा ८ महिनामा भुक्तानी सन्तुलनघाटा बढ्ने देखिएका बेला पर्यटक आवागमनको वृद्धिले सुधार ल्याउन सक्नेसमेत देखिएको छ ।
सरकारले स्वास्थ्य प्रोटोकलसम्बन्धी मापदण्ड खारेज गरेकाले पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको अलफ्ट होटलका सञ्चालक सुमन पाण्डे बताउँछन् ।
तथ्यांकअनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार ९ सय ७५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत वर्षको सोही महिनामा ८ हजार ८ सय ७४ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । यो भनेको गतवर्षको जनवरी महिनामा भन्दा लगभग १ सय १८ प्रतिशतले बढी हो ।
यो वर्षको फेब्रअरीमा १९ हजार ७६६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो भनेको पनि गतवर्षको फेब्रअरी महिनाको भन्दा १ सय १६ दशमलव १ प्रतिशतले बढी हो । सन् २०२१ को फेब्रअरीमा ९ हजार १४६ विदेशी पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए । यसरी हेर्दा कोरोना महामारीको पछिल्लो भेरियन्ट ‘ओमिक्रोन’को त्रास कायमै रहेको अवस्थामा पनि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या लगातार बढिरहेको देखिएको साग्रिला होटलका प्रबन्ध निर्देशक प्रविण पाण्डे बताउँछन् ।
‘यो नेपालको पर्यटन उद्योग र नेपालका पर्यटन व्यवसायीका लागि मात्रै नभएर हामी सबै नेपालीका लागि पनि राम्रो हो भन्न सकिन्छ’ उनले भने ।
यही गतिमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेमा लगभग ७ महिनामै सन् २०२१ को पूरा अवधिमा आएका विदेशी पर्यटकको संख्या पुग्ने सम्भावना देखिन्छ ।
कोरोना महामारीले विश्वबाटै बिदा लिएमा वा कोरोना महामारीको असर नगण्य मात्रै रहेमा सन् २०२२ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या कम्तीमा ३ लाख १० हजारदेखि ३ लाख २५ हजार पुग्ने अनुमान व्यवसायीले गरेका छन् ।
यो अनुमान सही हुन सक्ने सम्भावना किन पनि छ भने हालसम्म १ सय १८ प्रतिशतले नेपाल भ्रमण गर्न आएका पर्यटकको संख्या बढिरहेको छ ।
भ्रमण वर्षलाई लक्षित गरी अर्बौ रुपैयाँ लगानी गरेर होटल निर्माण गर्नेबित्तिकै कोरोना महामारीले छोप्यो । लगानीकर्तालाई बैंकको ब्याज तिर्नसमेत सकस पर्यो । केन्द्रीय बैंकले पर्यटन क्षेत्र अतिप्रभावितको सूचीमा राखेर केही सहुलियत दिएकाले व्यवसायीहरु जेनतेज टिकेको पाण्डेको भनाइ छ ।
अहिले अवस्था सामान्य हुँदै गएको र पर्यटकको वृद्धि पनि निरन्तर भइरहेकाले व्यवसायीलाई भन्दा पनि देशलाई नै राहत दिने होटल एसोसिएसन अफ नेपालका द्वितीय उपाध्यक्षसमेत रहेका पाण्डे बताउँछन् ।
नेपाललाई अहिले विदेशी मुद्राको ठूलो खाँचो छ । निरन्तर विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि केन्द्रीय बैंक निरन्तर दबाबमा छ । सोही कारण केन्द्रीय बैंकले आयात निरुत्साहित गर्न अनेकन उपाय लगाइरहेको छ । अहिले जुन रुपमा पर्यटकको संख्या बढिरहेको छ, त्यसले भुक्तानी सन्तुलन घाटालाई कम गर्ने व्यवसायीहरु बताउँछन् ।
अहिले काठमाडौंमा तारे होटलदेखि सामान्य होटलसमेत भारतीय, युरोपेली र अमेरिकी पाहुनाले भरिएको सञ्चालकहरु बताउँछन् ।