काठमाडौं । सरकारले पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई ४ लेनमा विस्तार गर्ने लक्ष्य राखेको ६ वर्ष बित्नै लाग्यो । २ लेनको राजमार्गलाई ४ लेनमा विस्तार गर्ने महत्वकांक्षी योजना आर्थिक वर्ष २०७२/०७३ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले अघि सारेका थिए ।
कुल लम्बाइ १ हजार २८ किलोमिटर रहेको पूर्वपश्चिम राजमार्गको २ खण्डमा सडक चौडा गर्ने काम निर्माणाधीन अवस्थामा रहेकाे र अन्य खण्ड विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको चरणमा रहेको सडक विभागले जनाएको छ । जसअनुसार हाल निर्माणाधीन अवस्थामा कमला–कञ्चनपुर र बुटवल-नारायणगढखण्ड रहेका छन् ।
कमला–कञ्चनपुर
कमला–कञ्चनपुर सडकखण्ड ८७ किलोमिटर लामो छ । सो सडकखण्ड सन् २०१८ मा सुरु भएर २०२३ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यद्यपि सो खण्डको हालसम्मको भौतिक प्रगति १० प्रतिशत मात्रै भएको सडक विभाग आयोजना निर्देशनलय (एडीबी) का उपमहानिर्देशक राकेश महर्जन बताउँछन् । उनका अनुसार सो खण्ड विस्तार गर्न साढे १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमध्ये हालसम्म २ अर्ब ३ करोड रुपैयाँ खर्च भएको महर्जनले जानकारी दिए ।
सो सडकखण्डलाई २ प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । यी दुवैको ठेक्का चीनको चाइना रेल्वे ब्युरो २ ग्रुपले पाएको छ । कञ्चनपुर–कुशाहाखण्ड ४० किलोमिटर र कुशाहा–कमलाखण्ड ४७ किलोमिटर विस्तार गर्नुपर्ने छ । ग्रुपले मूल्य अभिवृद्धि कर (भ्याट) सहित कञ्चनपुर–कुशाहा ७ अर्ब २७ करोड रुपैयाँ र कुशाहा–कमला ८ अर्ब ३८ करोड रुपैयाँमा स्तरोन्नतिको जिम्मा पाएको हो ।
तर, सरकारले राजमार्ग विस्तार गर्ने योजना अघि सारेलगत्तै फैलिएको कोरोना भाइरस महामारीका कारण लक्ष्यअनुसार काम हुन नसकेको उपमहानिर्देशक महर्जन बताउँछन् । कमला–कञ्चनपुर विस्तारको काम सन् २०२३ मा सकिनुपर्नेमा धकेलिएर २०२४ पुग्ने भएकाे छ ।
‘अबको डेढदेखि २ वर्षमा कमला-कञ्चनपुरखण्डको निर्माण कार्य सम्पन्न हुन्छ, बुटवल–नारायणघाटको पनि प्रगति उस्तै छ, त्यति नै समय लाग्छ’, क्यापिटल नेपालसँग कुरा गर्दै महर्जन भन्छन्, ‘कोरोनाका कारण २ वर्ष जति काम नै रोकियो । सँगै वन र बिजुलीका पोलहरू सार्नाले पनि सडक विस्तार कार्यमा सुस्तता भएको हो ।’
नारायण–बुटवल
नारायणगढ–बुटवल सडकखण्ड १ सय १३ किलोमिटर लामो छ । याे सडकखण्ड सन् २०१७ मा सुरु भएर २०२२ मा सम्पन्न गर्ने गरी सम्झौता भएको सडक विभागले जनाएको छ ।
सम्झौताअनुसार १७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको र हालसम्म साढे ३ अर्ब रुपैयाँ खर्च भएको उपमहानिर्देशक महर्जनले बताए ।
नारायगढ–बुटवल सडकखण्डलाई पनि २ प्याकेजमा ठेक्का लगाइएको छ । उक्त दुवै प्याकेजको ठेक्का चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्राप्त गरेको छ । २ प्याकेजअन्तर्गत नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर छ ।
कर्पोरेसनले भ्याटसहित नारायणगढ–दाउन्ने सडकखण्ड स्तरोन्नति गर्न ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडकखण्डका लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।
हालसम्म नारायणगढ–बुटवल सडकको भौतिक प्रगति १५ प्रतिशत भएको उपमहानिर्देशकको भनाइ छ । सम्झौताअनुसार सन् २०२२ सम्म सम्पन्न गर्नुपर्ने भए पनि कोरोना महामारीलगायत कारणले करिब २ वर्ष निर्माणको काम लम्बिने भएको छ ।
त्यस्तै काँकडभिट्टा–लौकी १२० किलोमिटर खण्ड २०२२ भित्रै ठेक्का सम्झौता गर्ने तयारी रहेको महर्जन बताउँछन् । ‘काँकडभिट्टा–लाैकीको यही वर्ष ठेक्का लाग्छ, अरू खण्डको डीपीआर तयार हुँदैछ । अर्को वर्ष मात्रै ठेक्का सम्झौता हुन्छ होला’ उनले भने ।
समग्रमा पूर्व–पश्चिम राजमार्गको विस्तार कार्य सम्पन्न हुने समय अहिले नै भन्न नसकिने उनको भनाइ छ ।
सरकारले सडकखण्ड एडीबी र विश्व बैंकको सहुलियपूर्ण कर्जामा बनाउन लागेको हो । नारायणगढ–बुटवल,कमला–कञ्चनपुर, काँकडभिट्टा–लौकी, पथलैया–नारायणगढ र बुटवल–गोरुसिंहे एडीबीको सहयोगमा बन्नेछ भने कमला–ढल्केबर–पथलैया विश्व बैंकको सहयोगमा बन्नेछ ।
तर, ६ वर्षको अवधिमा सडक विस्तारको कामले तीव्रता भने पाएको छैन ।
हाल नारायणगढ–बुटवल र कमला–कञ्चनपुरखण्ड ठेक्का सम्झौता भई सडक विस्ताको निर्माणधीन अवस्थामा छन् । त्यस्तै काँकडभिट्टा–लौकी, नारायणघाट–पथलैया र बुटवल–गोरुसिंहे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको क्रममा रहेको सडक विभागले जनाएको छ । कमला–ढल्केवर–पथलैया खण्डको डीपीआरका लागि परामर्शदाता छनोट भइसकेको छ ।