सौराहा । सौराहा भन्नेबित्तिकै हाम्रो दिमागमा निकुञ्ज र सँगसँगै गैंडा, बाघ, गोही आउँछन् । यहाँ आउनुको मुख्य उद्देश्य भनेको निकुञ्ज भ्रमणका साथसाथै जंगली जीवजनावर अवलेकन पनि गर्नु हो । हात्ती सफारी, जप सफारीमार्फत प्रकृति र जीवजनावरलाई नजिकैबाट नियाल्न पाउने एउटा प्रमुख गन्तव्य पनि हो, सौराहा ।
जंगलमा जंगलै नाम दिइएको ‘जंगल सफारी होटल एन्ड लज’ छ यही“ । हस्पिटालिटी क्षेत्रमा एउटा परिचित नाम हो यो ।
सौराहा पुग्ने अधिकांश ग्राहकको रोजाइमा पर्ने सोही होटलका सञ्चालक सुमन घिमिरेले थपेको अर्को ब्रान्ड हो, क्याफे दी सफारी । होटलकै आडमा सञ्चालित क्याफेमा स्वदेशी एवं विदेशी पर्यटकहरु कफीको स्वादमा गफिइरहेका भेटिन्छन् ।
विदेशमा मात्र होइन, नेपालमा पनि ‘कफी कल्चर’ दिनानुदिन बढिरहेको छ । पारखीहरु पनि सोहीअनुरुपले बढिरहेका छन् । होटलमा पाइने सामान्य कफीभन्दा कफीसपमै बनेको खान रूचाउनेहरु ज्यादा छन् ।
कफीपारखी घिमिरेले सौराहामै पहिलोपटक आउटलेटसहितको कफीसप खोलेका हुन् । सन् २०१५ मा उनले करिब २० लाख रुपैयाँ लगानी गरेर ‘क्याफे दी सफारी’ सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालनमा ल्याएको वर्ष नै भूकम्प आएपछि कफीसपले सोचेजस्तो प्रतिफल लिन सकेन । अवस्था सामान्य हुँदै गएपछि विस्तारै सौराहामा कफीपारखी बढ्न थाले ।
विभिन्न ठाउँबाट सौराहा घुम्न आएकाहरुले सहजै कफीको स्वाद लिनु सकून् भन्ने उद्देश्यअनुरुप खोलेको सो क्याफेले विस्तारै नयाँ रुप लिन थालेको छ । घिमिरेले सो कफीसप खोलेसँगै अहिले सौराहाक्षेत्रमा आधा दर्जन बढी कफिसपहरु खुलिसकेका छन् ।
‘काठमाडौंका विभिन्न ब्रान्डका कफीसपहरु खोलेको भए केही मात्रामा बजारहिस्सा बढ्थ्यो’, घिमिरे भन्छन्, ‘तर, सौराहामा आउने अधिकांश पर्यटकहरु सफारीका लागि आउने भएकोले त्यही नाम जोडेर कफीसप खोलेको हुँ ।’
फ्रेन्च शब्दसँग मिल्ने गरेर नामाकरण गरिएको उनको भनाइ छ ।
हरेक निकुञ्जमा विस्तार गर्ने तयारी
घिमिरे यो ब्रान्डलाई नेपालभरका राष्ट्रिय निकुञ्जहरुमा विस्तार गर्ने तयारीमा छन् । कोभिड संक्रमणका कारण केही ढिला भए पनि अब भने सबै निकुञ्ज आसपासका होटलक्षेत्रमा आउटलेट खोल्ने योजना उनको छ ।
तत्कालका लागि चितवन र बर्दिया निकुञ्जमा आउटलेट खुलिसकेको छ । बिस्तारै अन्य निकुञ्जहरुमा पनि विस्तार गर्ने सोच रहेको उनी सुनाउँछन् । पर्यटकको आगमन बढेसँगै आउटलेट विस्तार पनि हुने उनको भनाइ छ ।
‘सफारीलाई सगरमाथा राष्ट्रिय निकुञ्जदेखि पर्सा राष्ट्रिय निकुञ्जसम्म फैलाउने योजना छ’, उनले भने । फ्रेन्चाइजी दिने तयारीसँगै निकुञ्जहरुमा भने घिमिरे आफैंले लगानी गरेर वा ५० प्रतिशत साझेदारीमा खोल्ने बताए ।
कतिपय ब्रान्डको फोकसमा बजारक्षेत्र भए पनि सफारीलाई भने निकुञ्जक्षेत्रमा विस्तार गरी नेपालभरका निकुञ्जमा यसको ब्रान्डलाई पुर्याउने लक्ष्य छ’ उनले सुनाए ।