काठमाडौं । नेपाल आयल निगम र व्यवसायीहरुबीचको लडाईले बजारमा खाना पकाउने ग्यास अभाव हुने अवस्था आएको छ । सोमबार बिहानैबाट भन्सारमा ग्यास बुलेटहरु रोकिएका छन् ।
इन्धन ढुवानीको मूल्य समायोजनको माग गर्दै व्यवसायीहरु आन्दोलित भएका छन् । वार्तामार्फत समस्या समधान गर्नुको सट्टा निगमले नै नियोजित रुपमा ग्यास अभाव गराउन सोमबार बिहानैबाट भन्सारमा ग्याँस बुलेटहरु रोकेको आरोप व्यवसायीको छ ।
निगमका अधिकारीहरुले सबै भन्सार कार्यालयका कर्मचारीहरुलाई म्यासेजमार्फत सर्कुलर जारी गर्दै मार्च महिनाको कोटा बमोजिभ उठाउन बाँकि रहेको पीडिओ डिमाण्ड खरिद नगरेको भन्दै सबै भन्सारबाट ग्यास बुलेट पास हुन नदिएको हो ।
निगमले भैरहवा,जोगवनी र नेपालगन्ज नाकामा त्रिहानैदेखि र वीरगञ्ज भन्सारमा दिउँसो १ बजेबाट ग्यास बुलेटहरु पास हुन नदिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले बताए ।
व्यवसायीहरुको आन्दोलन चलिरहेको बेला निगमले नै भन्सारबाट ग्यास बुलेटहरु आउन नदिएर नियोजित रुपमा बजारमा अभाव गराउन लागेको उनको आरोप छ । आफुहरु वार्तामार्फत समस्याको समधान गर्न तयार रहेको बताउँदै निगमले वार्तामा बोलाउनुको सट्टा उल्टै भन्सारमा बुलेट रोकेर ग्यास अभाव गराउन सक्रिय भएको उनको दाबी छ ।
एलपी ग्यास उद्योगका पूर्वअध्यक्ष एवंम नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीले सरकारी तवरबाटै भएको यो हस्तक्षेपको जिम्मेवारी पनि निगमनै हुनुपर्ने बताए । व्यवसायीहरुले निगमले बढाएको नयाँ मूल्यअनुसार इन्धन ढुवानीको मूल्य समायोजनको माग गरेको भन्दै समस्या समाधान गर्न भन्दा पनि यसलाई बल्झाउनतर्फ निगम लागेकोको उनको आरोप छ ।
व्यवसायीहरुले चैत ६ गतेबाट ग्यासको पीडिओ खरिद नगर्ने र २० गतेबाट बिक्री बन्द गर्ने समेतको चेतावनी दिँदै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । तर, निगमसँग वार्ताका लागि धेरै समय हुँदा हुँदै पनि व्यवसायीहरुलाई एक्लौटी ढंगबाट पेल्नका लागि भन्सारमा ग्याँस बुलेट रोकेको पूर्वअध्यक्ष भण्डारीको भनाई छ । भारतीय ढुवानीकर्ताले पनि मूल्य समायोजन गर भनिरहेको बेला भन्सारमा गाडी रोकिनु दुःखद भएको उनले बताए ।
हाल भारतबाट दैनिक ८५ वटा ग्यास बुलेट नेपालमा आउने गरेको छ । निगमका प्रवक्ता विनितमणी उपाध्यायले भने भन्सारमा रहेका कर्मचारीहरुलाई बुलेट रोक्नका लागि कुनै सर्कुलर जारी नगरेको बताए । प्राविधिक कारणले भन्सारमा केहि समस्या भएको हुन सक्छ, प्रवक्ता उपाध्यायले भने तर, निगमले सर्कुलरनै जारी गरेर बुलेट रोकेका छैनौं ।
उनले व्यवसायीहरुसँग वार्ताको लागि निगमले समिति बनाइसकेको र वार्ताको लागि पत्रसमेत पठाइसकेको अवस्थामा बुलेट रोक्ने नीतिमा निगम नरहेको स्पष्ट पारे ।
अहिले बजारमा ग्यास अभाव हुन थालिसकेको छ । बिक्रेताहरुले नयाँ ग्यास सिलिण्डर नआएको भन्दै सर्वसाधारणहरुलाई फर्काउन थालिसकेका छन् ।