नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सीजी उन्नति कल्चरल भिलेजमा उन्नति मेला सम्पन्न भएको छ । कम्पनीले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा ‘उन्नति मेला’को सम्पन्न गरेको हो ।
कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगित, मगर र थारु नाच र स्थानीय कलाकारहरुको प्रस्तुतीहरुले उत्सवमय रौनक थपेका थिए । स्थानीय महिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरु प्रदर्शनमा राखिएको मेलामा कलाकारहरु, संस्कृति एवं कला प्रेमीलगायत उत्साही सर्वसाधारणहरुको जमघट थियो ।
उन्नति कल्चरल भिलेज चौधरी फाउण्डेनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालित छ । यो कला, संस्कृति, साहित्य र संगितको प्रवद्र्धनमा क्रियाशिल छ । उन्नतिले आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आगामी दिनमा सातवटै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
फागुन २८ गते दिप प्रज्वलनबाट मेलाको सुरुवात गरेका गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले कला, संस्कृति र साहित्यलाई उद्यमशीलता र रोजगारीसंग जोड्नुपर्ने आवश्यकता औलाएका थिए ।
उनले आफ्नो मन्त्रालय त्यसमा निजी संघ संस्थाहरुसँग पनि सहकार्य गर्न तयार रहेको जानकारी दिए । उक्त अवसरमा गैंडाकोट नगरपालिका नगरप्रमुख चन्द्रराज पौडेलले परम्परागत जीविकोपार्जनको महत्वबारे जोड दिँदै मौलिक कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि जनस्तरबाटै लाग्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए । उनले उन्नति कल्चरल भिलेजले आफ्नो स्थापनाको छोटो समयमा नै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए । चौधरी फाउण्डेसनकी निर्देशक सुरभी चौधरीले भिलेजको उद्देश्य अनुरुप सातै प्रदेशमा नमूना सांस्कृतिक घर निकट भविष्यमा नै निर्माण गरिने बताइन् ।
सो अवसरमा सिटिईभिटिका प्रमुख प्रमोद आचार्यले साना उद्यमी र व्यवसायी उत्पादन गर्नका लागि आफ्नो संस्थाले चौधरी फाउण्डेसनसँग सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, वरिष्ठ कलाकार गोपाल कलाप्रेमीलगायतको उपस्थिति थियो । चौधरी फाउण्डेसनका प्रबन्ध निर्देशक राहुल चौधरीले आगामी दिनमा फाउण्डेसनले यस्ता कार्यक्रम जारी राख्ने बताए ।
मेलाका अवसरमा चौधरी फाउण्डेसन र भिक्कु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभकाबीच स्थानीय कला, संस्कृत र सिपको विकास गर्दै स्थानीयको स्तर उन्नति गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
मेलामा करियर कार्यशाला र आर्ट कार्यशालाको पनि आयोजना गरिएको थियो । सोही अवसरमा भविष्यमा कला प्रदर्शनीलगायतका विभिन्न कार्यक्रम आयोजना गर्नकालागि निर्माण गरिएको ‘कला दिर्घ’को उद्घाटन गरिएको थियो ।