काठमाडौं । चालु आवको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो ।
यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको हो । गत आवमा इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४.४३ प्रतिशतको वृद्धि भएको छ ।
निर्यातलाई आन्तरिक उत्पादनले भन्दा पनि आयात भएर आएर पुन: रिप्याकेजिङ गरेर बाहिर पठाउने दुई बस्तुले ऐतिहासिक उचाइमा पुर्याएको हो।
नेपालको निर्यातमा सबैभन्दा धेरै हिस्सा पाम तेल, सोयाबिन तेल, भटमास तेल लगायतको छ। आठ महिनामा तेस्रो देशबाट आयात भएर ८४ अर्ब बराबरको तेल भारत निर्यात भएको छ। यो भनेको कुल निर्यातको ५७ प्रतिशत हो।
यस्तै इन्डोनेसिया मलेसिया लगायत देशहरुबाट ६३ अर्ब बराबरको पाम, भटमास तेलको आयात भएको छ। यी वस्तुहरु तेस्रो देशबाट आयात भएर भारत निकासी हुने गरेको छ। नेपाली व्यावसायीहरुले भन्सार महसुलको फाइदा लिएर धमाधम निर्यात गरिरहेको तथ्यांकले देखाउँछ।
तर यसमा भ्यालु एड भने हुने गरेको छ। निर्यातमा ६३ अर्ब बराबरको भने अन्य वस्तु रहेको छ। निर्यात हुने अन्य वस्तुमा ओभन फाब्रिक जुट रहेको छ। यो अवधिमा ४ अर्ब बराबरको निर्यात भएको छ। यस्तै कार्पेट कार्पेट ३ अर्ब ३९ करोड बराबरको अमेरिका निर्यात भएको छ।
यसैगरी अलैची भारतीय बजारमा ३ अर्ब २३ करोड मूल्य बराबरको निर्यात भएको छ। अन्य सामाग्रीमा धेरैजसो धागोकै उत्पादनहरु रहेका छन्।