काठमाडौं । तीन दिन सुस्त देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार अन्तिम समयमा एकाएक चम्किएको छ । फागुन २६ र २९ मा एकाएक माथि उठेको सेयर बजार सूचक चैत लागेपछि सेलाएको थियो ।
फागुन २६ गते ५२ अंक र २९ गते १०१ अंक बढेको नेप्से ३० मा स्थिर रहेको बजार चैत लागेपछि तीन कारोबार दिन नै घटेको थियो । तर, सोमबार चैतको चौथो कारोबार दिन सुरुमा घटेर कारोबार हुँदै २६०० अंकसम्म झरेको बजार अन्तिम एक घण्टामा भने एकाएक माथि उक्लिएको छ ।
आइतबार २६१६ मा रहेको सूचक सोमबार कारोबार खुल्दा २६२४ सम्म पुगेको थियो । तर, पहिलो ८ मिनेटबाट झर्न थालेको बजारले २६०० टेकेपछि सुधारको संकेत गरेको थियो । गतसाता विभिन्न अफवाह चलाएर एकाएक १५३ अंक बढाइएको सूचक सोमबारसमेत गरी ४ दिनमा ६८ अंकसम्म तल झर्न पुग्यो । नियमित बजार घटेपछि फेरि एक पटक बजारमा चलखेल देखिएको छ । र, सूचक उठाउने प्रयास भएको छ । गतसाता अर्थमन्त्री हट्ने, ब्याजदर नबढ्ने, बिमा कम्पनीको पुँजी वृद्धि हुने, बाह्य क्षेत्रमा सुधारलगायत कारण देखाएर बजार उचालिएको थियो । तर, चैत लागेपछि विस्तारै बजार घटाउने प्रयास भयो ।
यसबीचमा अर्थमन्त्री हट्ने/हटाउने सम्भावना पनि क्षण देखियो । जसले बजारलाई झार्न मद्दत गर्यो । विगतमा अर्थमन्त्री डा. युवराज खतिवडा छाड्ने र रहने बहसमा बजार बढ्ने र घट्ने गर्यो । त्यही प्रतिक्रिया अर्थमन्त्री जनार्दन शर्मामा पनि सेयर बजारले देखायो ।
बिमा समितिले जोखिममा आधारित पुँजी योजना अघि सार्ने छनक दिएको छ । यद्यपि, त्यसको विस्तृत खाका नआएकाले अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । यद्यपि, लगातार घटेपछि केही सुधार हुनु आवश्यक थियो । निरन्तर घट्दा लगानीकर्तामा थप नैरश्यता जाग्ने भएकाले बेलाबेला लगानीकर्ताहरु आक्रामक बन्ने र झिनो सम्भावनाको ढोका खोल्न गर्छन् ।
जसको संकेत सोमबार देखिएको छ । सोमबार अन्तिममा १८.०७ अंकले बढेर नेप्से सूचकले २६३४.६५ अंकमा चढेको छ । त्यसका लागि १५६ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । सबैभन्दा बढी गतसाता देखि कारोबार सुरु भएको इमर्जीङ नेपालको ९.९८ प्रतिशत छ भने न्यादी ग्रुप पावरको ७.६७ प्रतिशतको वृद्धि छ । बजार बढ्दाको प्रभाव कारोबार रकममा पनि परेको छ । आइतबार २ अर्ब २२ करोडको सेयर किनबेच भएकोमा सोमबार २ अर्ब ५९ करोड २७ लाख रुपैयाँ पुगेको छ । अन्तिम समयमा बजार बढे पनि ३१ कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २.९७ प्रतिशतले घटेको हो ।
सोमबार नेपाल टेलिकमको २० करोड ९४ लाखको सेयर कारोबार हुँदा अन्य कुनै पनि कम्पनीको १० करोड पुगेको छैन । समग्रतामा पछिल्लो चरणको कारोबार प्रवृत्ति, बजारिक प्रभाव र मन्त्री फेरबदलको मौसमलाई प्रयोग गरेर बजार बढाउने कोसिस हुन सक्छ । तर, बजारमा देखिएको तरलता अभावले लगानीकर्ता मनेवैज्ञानिक हिसावले मजबुत बनिसकेका छैनन् । त्यस्तो अवस्थामा तुलनात्मक रुपमा बजार अघि जाने सम्भावना कम छ । यद्यपि, घटेको बजारमा सेयर किनेका लगानीकर्ताले नाफा बुक गर्नका लागि एक दुई दिन सकारात्मक संकेत दिन सक्छन् ।