काठमाडौं । कृषि प्रधान देश नेपालले छिमेकी मुलुक भारतबाट वर्षेनी अर्बौं रुपैयाँको मकै आयात गर्दै आएको छ । मकै उत्पादन भए पनि माग पुरा नहुने भएपछि करोडौं डलर खर्चेर नेपालले भारतबाट मकै आयात गरेको हो । १० महिनामा मात्रै १३ करोड २१ लाख ६० हजार डलर (१६ अर्ब रुपैयाँ) तिरेर नेपालले भारतबाट मकै आयात गरेको छ ।
भारतको वाणिज्य मन्त्रालयका अनुसार मकै किन्ने देशहरु मध्ये बंगलादेशपछि नेपाल हो । गत वर्षको अप्रिलदेखि यो वर्षको जनवरीसम्म नेपालले १६ अर्ब ८ करोड ८६ लाख १६ हजार ५ सय ४४ रुपैयाँ बराबरको मकै लगेको भारतीय तथ्याँक छ ।
भारतबाट सबैभन्दा बढी मकै लैजाने मुलकमा बंगलादेश रहेको छ । समीक्षा अवधिमा बंगलादेशले ३४ करोड ५५ लाख डलर बराबर (करिव ४२ अर्ब रुपैयाँ) को मकै किनेको दी इकोनोमिक टाइम्सले जनाएको छ ।
समीक्षा अवधिमा भारतको मकै निर्यात २८.५ प्रतिशतले बढेर ८१ करोड ३० लाख १० हजार डलर पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा ६३ करोड ४८ लाख ५० हजार डलर बराबरको मकै निर्यात गरेको थियो ।
भारतले बंगलादेश, नेपालसहित भियतनाम, मलेशिया, म्यानमार, श्रीलंका, भुटान, ताइवान र ओमानमा मकै निर्यात गरेको हो ।
धान र गहुँपछि मकै भारतको तेस्रो ठूलो निर्यात हुने खाद्यान्न हो ।
कर्नाटक, मध्य प्रदेश, केरला, विहार, तमिलनाडु, तेलेङ्ना, महाराष्ट्र र आन्ध्र प्रदेशमा धान, गहुँ र मकै ठूलो मात्रामा उत्पादन हुने गर्छ । पछिल्लो समय दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाबाट मकै आयात हुन थालेको छ । अर्जेन्टिनाबाट स्वीट मकै नेपालमा आयात हुने गरेको छ । यो मकैंको माग बढ्दै गएको छ ।