खलंगा । कर्णाली प्रदेशको सबैभन्दा ठूलो जुम्लास्थित वृहत् धौलीगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको निर्माण प्रक्रिया अहिले सुरु भएको हो ।
केही महिनाअघि आयोजना निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता भए पनि कहिलेबाट निर्माण हुने टुंगो लाग्न सकेको थिएन । १ अर्ब २६ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त आयोजनाको भोलि अर्थात् यही चैत ५ गते संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गर्ने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजनका प्रमुख महेश न्यौपानेले बताए ।
कर्णाली प्रदेशकै ठूलो र नेपालको हिमाली भेगमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजनाबाट चन्दननाथ नगरपालिकासहित गुठीचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी लाभान्वित हुनेछन् ।
आयोजना सञ्चालनसँगै त्यस क्षेत्रका नागरिकले भोगिरहेका खानेपानी समस्या पनि हट्ने अपेक्षा गरिएको छ । लामो संघर्ष र प्रयासपछि आयोजना निर्माण हुने प्रक्रिया गएकोमा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गरे । आयोजनाअन्तर्गत ३ हजार ३०० भन्दा बढी धारा निर्माण गरिने छन् ।
खानेपानीको अभाव झेलिरहेका जुम्लाका दुर्गम गाउँबस्तीले आयोजनाबाट राहत पाउने विश्वास लिइएको छ । ‘करिब १२ वर्षपछि धौलीगाड खानेपानी आयोजना निर्माणका लागि टेन्डर प्रक्रियामा गएपछि जुम्ली नागरिक खुसी भएका छन् । ‘जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेन्डरमा गएको छ’, उनले भने, ‘तीनवटै स्थानीय तहले लगानी गरेपछि आयोजनाले मूर्त रूप लिएको छ । अब आयोजनाले गति लिने छन् ।’
स्थानीय तहको साढे १ करोड लगानी
आयोजना निर्माणका लागि कुल लागतको १ प्रतिशत रकम स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेछ । १ प्रतिशत श्रमदानका लागि लाभान्वित तीनवटा स्थानीय तहले १ करोड ४६ लाख रुपैयाँ लगानी गरेको जिसस उपप्रमुख बुढाले जानकारी दिए ।
स्थानीय तहले आयोजनाको खातामा अग्रिम नगद जम्मा गरेपछि आयोजना अघि बढेको हो ।
यसका लागि चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख बजेट पहिले नै बैंक धरौटी राखिसकेका छन् । सो खानेपानी आयोजनाको सुरुवात २०६४ सालदेखि नै भएको थियो ।
२०६६ सालमा स्थानीयवासी राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समितिले आयोजनाको केही काम सुरु गरे पनि त्यसले पूर्णता पाउन भने सकिरहेको थिएन ।