काठमाडौं । दुई दशकदेखि शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रमा क्रियाशील रमेशकुमार थापाको समूहले गण्डकी प्रदेशमै पहिलोपटक मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ ।
पोखराको रानीपौवामा ५ रोपनी क्षेत्रफलमा सञ्चालनमा आएको मेडिप्लस गण्डकी प्रदेशकै पहिलो ट्रमा अस्पताल हो ।शिक्षा र पर्यटनमा लगानी गर्दै आएका थापाले स्वास्थ्य क्षेत्रमा पनि लगानी विस्तार गरेका हुन् ।
३० करोड रुपैयाँको लगानीमा निर्माण भएको सो अस्पतालमा थापासहित डा. निरज रन्जित, डा. सरोज पोखरेल, डा. आनन्द भट्टराई, चार्टर्ड एकाउन्टेन्ट विक्रम पराजुली र समाजसेवी रामजीप्रसाद बास्तोलाको संयुक्त लगानी रहेको छ ।
साथै मेडिप्लसमा पोखराका प्रतिष्ठित व्यवसायी र बैंकर्सहरुको पनि लगानी रहेको थापाले जानकारी दिए ।
‘पोखरामा स्तरीय सेवा प्रदान गर्ने हस्पिटलको आवश्यकतालाई हेरी लगानी गरेका छौं’, थापाले भने, ‘स्वास्थ्य क्षेत्रमा लामो समयको अनुभव भएका चिकित्सक तथा व्यवसायीहरुको हस्पिटलमा आबद्धता छ ।’
२५ शय्या क्षमता भएको सो अस्पताललाई विस्तारै स्तरोन्नति गर्दै लैजाने तयारी उनको छ । दुर्घटना तथा चोटपटकबाट गम्भीर घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा विशेष प्रकारको उपचार सेवा प्रदान गरिरहेको सञ्चालक थापाले जानकारी दिए । थापाका अनुसार पोखराका ख्यातिप्राप्त २५ जना विशेषज्ञ डाक्टरहरुले नियमित सेवा दिन थालेका छन् ।
पोखराको मुख्य बजार महेन्द्रपुलबाट १०० मिटरको दूरीमा रहेको हस्पिटलबाट धेरै प्रभावकारी स्वास्थ्य सेवा सुविधा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको थापाले बताए ।
‘पोखरा तथा समग्र गण्डकी प्रदेशका जनतालाई सस्तो शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउनेछौं’ उनले भने ।
शल्यक्रिया, न्युरो सर्जरी, बालरोग, प्रसुती तथा स्त्रीरोग सेवा, छाला तथा यौनरोग सेवा, नाक, कान, घाँटी, मनोरोगलगायत स्वास्थ्य उपचारसँगसम्बन्धी सम्पूर्ण सेवाहरु हस्पिटलबाट उपलब्ध हुने बताइएको छ ।
एम्बुलेन्स सेवा, क्रिटिकल केयर युनिट, ल्याब टेस्ट र डाइग्नोस्टिक, इमेर्जेन्सी एन्ड ट्रमा केयर, डे केयर, होम केयर, वार्ड एन्ड रुम केयर, प्यासेन्ट सपोर्टलगायतका सुविधा उपलब्ध हुनेछ ।
‘अनलाइनबाटै डाक्टरको अपोइन्टमेन्ट लिन सकिन्छ,’ थापाले भने, ‘डिजिटल एक्स–रेको सुविधा उपलब्ध छ ।’ यस्तै अल्ट्रासाउन्ड, अनलाइन ल्याब रिपोर्ट, सिटी स्क्यान, औषधी होम डेलिभरी लगायतका सुविधा पनि उपलब्ध छन् ।