अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ । जुन मुलुकमा ब्याजदर बढी हुन्छ त्यतातिर लगानी जाने गरेको छ । अमेरिकाको अर्थतन्त्रलाई विश्वको ‘इन्जिन अफ ग्रोथ’ मानिन्छ । संसारको अर्थतन्त्रलाई अहिले अमेरिकाले ‘लिड’ गरिरहेको छ ।
रसिया र युक्रेन युद्धले गर्दा अमेरिकातिर पुँजी गइरहेको थियो । फेडको ब्याजदर वृद्धिले अमेरिकामा लगानी जानलाई झनै सघाउ पुर्याउने छ । अस्तिसम्म फेडरल रिजर्भले ब्याजदर बढाउँछ भन्ने अपेक्षा ग्लोबल इन्भेस्टर्सको थियो । ब्याजदर वृद्धि लगानीकर्ताको अपेक्षाअनुसार भएकाले यसले विश्व अर्थतन्त्रमा तत्काल अप्रत्यासित नयाँ परिणाम ल्याउँदैन होला ।
पछिल्लो ४ महिनामा भारतबाट ४ अर्ब डलर अमेरिकामा गएको छ । यस्तै अन्य मुलुकहरूबाट लगानी अमेरिकातिर गइरहेको छ । लगानीकर्ताहरूका लागि लगानीको प्रमुख गन्तव्य अमेरिका नै हो । यो वर्ष अमेरिकाले ६ पटकसम्म ब्याजदर बढाएर २ प्रतिशतसम्म पुर्याउने भनेको छ । अहिले देखिएको अनिश्चितताका कारणले त्यहाँसम्म ब्याजदर पुग्ला नपुग्ला यो पछिको कुरा भयो ।
फेडरल फन्ड दर बढ्नु भनेको अमेरिकाको मौद्रिक नीति सामान्यतर्फ गएको हो । सन् २००८ को विश्व आर्थिक संकटपछि अमेरिकाको अर्थतन्त्र सामान्य हुँदै गएको थियो । तर, कोरोना महामारीले गर्दा अमेरिकाले फेरि गैरपरम्परागत मौद्रिक नीति अपनाइरहेको थियो । परिस्थिति अहिले फरक भयो र अमेरिका नीति सामान्य अवस्थातर्फ गयो । अमेरिकामा मुद्रास्फीति दर बढेको देखिएको छ । त्यसलाई नियन्त्रण गर्नका लागि फेडरल रिजर्भले ब्याजदर बढाएको हो ।
अमेरिका लगानीकर्ताका लागि उपर्युक्त गन्तव्य हो । फेडको ब्याजदर वृद्धिले अन्य मुलुकहरूबाट लगानी अमेरिकातिर जाने संभावना बढी हुन्छ । लगानी अमेरिका गए पनि तत्काल यसले धरै असर नगर्ला । ब्याजदर वृद्धि अप्रत्याशित भने हैन । फेडरल रिजर्भले पहिलादेखि नै ब्याजदर बढाउने घोषणा गर्दै आएको थियो । अहिले त्यही घोषणालाई अमेरिकाले कार्यान्वयन मात्र गरेको हो ।
यसलाई दुई किसिमले हेर्न सकिन्छ । एउटा स्वभाविक रूपमा जुन हिसावबाट अमेरिकी अर्थतन्त्र बलियो छ, उसले लिड गर्छ र त्यतातिर लगानी जान्छ भन्ने अनुमान भइरहेको थियो यसले निरन्तरता पाइरहन्छ । पहिला नै ब्याजदर बढ्ने घोषणा भएकाले बढ्दैमा विश्व अर्थतन्त्रमा तत्कालै ठूलो असर नदेखिन सक्छ । पछिल्ला केही महिनायता अन्य मुलुकहरूबाट अमेरिकामा डलर गइरहेको छ र अब झनै जान्छ ।
नेपालमा असर
भारतीय रुपैयाँ (भारुसँग) स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण नेपाललाई सिधै असर त पर्दैन । ब्याजदर वृद्धिले भारतको डलर सञ्चित घटाउँदै लग्यो भने भोलि भारु थप कमजोर हुन्छ । केही समययता भारतबाट अर्बौ डलर लगानी अमेरिकातिर गइसकेको छ । ब्याजदर वृद्धिले लगानी लैजानालाई प्रोत्साहित गर्ने छ । त्यसले हाम्रो रुपैयाँलाई पनि अवमूल्यन गराउँछ । आयातको बिल बढ्ने संभावना छ ।
अहिले त्योभन्दा ठूलो जोखिम रसिया–युक्रेन युद्धले सिर्जना गरिरहेको छ । फेडरल रिजर्भले मौद्रिक नीतिलाई सामान्यकरण गर्ने जानकारी पहिला नै गराएको थियो । त्यही भएर उसले ब्याजदर वृद्धि कार्यान्वयमा ल्याएको हो । अमेरिकामा ब्याजदर वृद्धिको ठूलो प्रभाव तत्काल पर्दैन जस्तो लाग्छ । मौद्रिक नीतिलाई सामान्यकरण गरी मुद्रास्फीतिलाई नियन्त्रण गर्ने फेडको नीति हो ।
अमेरिकामा मुद्राजन्य स्फीतिको जुन अपेक्षा बढिरहेको थियो, त्यसलाई नियन्त्रणमा ब्याजदर वृद्धिले सघाउ पुर्याउने छ । अमेरिकी अर्थतन्त्र रिकभरि राम्ररी भएर ‘बुम’ भइसकेको छ । यद्यपि त्यहाँ मुद्रास्फीति धेरै माथि नै छ । २ प्रतिशतको मुद्रास्फीति बढेर ७ प्रतिशत पुगेको छ । मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिकाले ब्याजदरमा हेरफेर गरेको हो ।
पहिलो कुरा अमेरिकाले अहिले विश्व अर्थतन्त्रको नेतृत्व गरिरहेको छ यसको निरन्तरता हो । दोस्रो लगानी अमेरिकातिर गइरहेका छन् । तेस्रो रुस र युक्रेन युद्धले सिर्जना गरेको अनिश्चितताका कारण अमेरिकी अर्थतन्त्र मजबुत भएकाले त्यसको निरन्तरता पनि हुन्छ । ब्याजदर वृद्धिले अमेरिकामा अन्य अर्थतन्त्रहरूबाट लगानी जाने छ । यसले मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुर्याउने छ ।