काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) मा नेप्से परिसूचक बढेको समयमा मात्र समस्या आउने गरेको पाइएको छ ।
अहिलेसम्म जति पनि टीएमएसमा समस्या देखिएको छ, उक्त समयमा नेप्से परिसूचक बढेको छ । २०७७ भदौयता टीएमएसमा पटक–पटक समस्या देखा परेका छन् । अन्य कारोबार दिन सामान्य अंकले घटबढ भइरहेको अवस्थामा उच्च अंक परिसूचक बढ्दाको दिन भने प्राविधिक समस्या देखिने गरेको पाइएको हो ।
पछिल्लो कारोबार दिन २०७८ फागुन २९ गते परिसूचक १०१ अंकले बढेको थियो । परिसूचक उच्च अंकले बढेकै भोलिपलट बजार खुलेको दुई घण्टा नवित्दै नेप्सेले सञ्चालनमा ल्याएको टिएमएसमा समस्या देखियो ।
यो मात्र नभई अघिल्ला पटकका कारोबारमा पनि यस्तै समस्या देखिन्छ । २०७७ भदौ १४ गते टीएमएसमा समस्या आउँदा अघिल्लो कारोबार दिन नेप्से २१ अंकले वृद्धि भएको थियो ।
त्यो समय १४०० विन्दुमा भएको नेप्से परिसूचक एकैदिन २१ अंकले वृद्धि हुनु स्वभाविक नभएको लगानीकर्ताको भनाइ छ । लगानीकर्ता तारा प्रसाद फुलेल अन्य कारोबार दिनमा सामान्य अंकले घटबढ हुने परिसूचक उक्त दिन उच्च अंकले बढ्नु र अर्का दिन सिस्टममा समस्या आउँनु नियोजित हुन सक्ने शंका गर्ने ठाउँ रहेको बताउँछन् ।
टीएमएसमा यस्ता समस्या पटक–पटक आएकोले यसलाई नेप्से र धितोपत्र बोर्डले छानविन गर्नुपर्ने उनको भनाइ छ । तर, नेप्से र धितोपत्र बोर्डले भने बजार बढेकै समयमा समस्या आउनु संयोग मिलेको बताउदै अएका छन् ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली भने प्राविधिक कुरामा कहिले काहीँ समस्या देखा पर्नु स्वभाविक ठान्छन् । ‘बजार बढेकै समयमा प्राविधिक समस्या देखिने गरेको छ । यो संयोग मात्र जुरेको हो । तर, लगानीकर्ताले आशंका गरे जस्तो नियोजित कुनै हालतमा पनि हुन सक्दैन,’ उनले आर्थिक अभियानलाई भने, ‘प्राविधिक कुरा हो सधै कहाँ एकैनास हुन्छ र ? पछिल्लो समस्या भन्ने हो भने ब्रोकरको डाटा सेन्टरमा समस्या आएको हो । हाम्रो सिस्टममा हैन् ।’
प्रत्येक पटक बढेर उच्च विन्दुमा पुगेको समयमा यस्तो समस्या नआएको भन्दै पराजुलीले यस्ता समस्या जुनसुकै बेलापनि आउन सक्ने बताए । त्यसैगरी धितोपत्र बोर्डले भने टीएमएसमा पटक–पटक समस्या आएपछि यसको समाधान खोज्न नेप्सेलाई पत्र पठाइसकेको छ ।
बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी यस्ता समस्या के कारणले आएको भन्ने बारे छलफल गरेर निष्कर्षमा पुग्ने बताउँछन् । लगानीकर्ताले यो विषयमा धेरै चासो राखेकाले समाधानको बाटो खोज्न बोर्डले नेप्सेलाई भनिसकेको गिरीले बताए ।
‘पछिल्लो समय टीएमएसमा समस्या देखिन थालेपछि त्यसको समाधानका लागि नेप्सेलाई बोर्डले निर्देशन दिएको छ । थप कुरा बुझ्न नेप्सेलाई छलफलका लागि बोलाइएको छ,’ उनले भने ।
गत वर्षको चैत १८ गतेपनि टीएमएसमा समस्या आएको थियो । उक्त दिन नेप्से परिसूचक ४३ अंक बढेको थियो । परिसूचक अघिल्लो दिन ३२ अंकले वृद्धि भएको थियो । यसरी परिसूचक बढेकै समयमा प्राविधिमा समस्या आउँदा शंका गर्ने प्रसस्त ठाउँ रहेको लगानीकर्ताले बताउँदै आएका छन् ।