एजेन्सी । एसियाका दोस्रो धनी व्यक्ति गौतम अडानीको सम्पत्तिमा गत वर्ष अर्थात् सन् २०२१ मा ४९ अर्ब डलर वृद्धि भएको छ । यो विश्वकै टप–३ धनाढ्य उद्योगपतिहरु; एलन मस्क, जेफ बेजोस र बर्नार्ड अर्नाल्टको सम्पत्तिमा भएको वृद्धिभन्दा बढी हो । हुरुन ग्लोबलले जारी गरेको धनाढ्य व्यक्तिहरुको सूचीमा यो जानकारी छ ।
यता रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी १०३ अर्ब डलरको सम्पत्तिसहित भारतकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति वार्षिक रुपमा २४ प्रतिशतले वृद्धि भएको छ । बन्दरगाहदेखि ऊर्जासमेत विभिन्न कारोबारसँग जोडिएका अडानी ग्रुपका प्रमुख गौतम अडानी भने ८१ अर्ब डलर सम्पत्तिसहित दोस्रो स्थानमा छन् । उनको सम्पत्ति १५३ प्रतिशतले बढेको छ ।
१० वर्षमा १८३० प्रतिशले बढ्यो अडानीको सम्पत्ति
हुरुनले जारी गरेको धनाढ्य व्यक्तिहरुको सूचीअनुसार १० वर्षमा अम्बानीको सम्पत्ति ४ सय प्रतिशतले बढिरहँदा अडानीको भने १८३० प्रतिशतले बढेको छ । एचसीएलका शिव नडार २८ अर्ब डलरको सम्पत्तिसहित भारतीय तेस्रो धनी व्यक्ति बनेका छन् । यस्तै सिरम इन्स्टिच्युटका साइरस पुनावाला २६ अर्ब अमेरिकी डलरसहित चौथो स्थानमा छन् । पाँचौंमा स्टिल उद्योगी लक्ष्मी मित्तल छन् । उनको कुल सम्पत्ति २५ अर्ब डलरको छ ।
एमथीएम हुरुन ग्लोबल रिच लिस्टका अनुसार विश्वका धनी व्यक्तिहरुको सूचीमा ५९ वर्षीय अडानीको सम्पत्ति अन्यको भन्दा तीव्र रुपमा बढेको छ । उनले गत वर्ष मात्रै आफ्नो सम्पत्तिमा ४९ अर्ब डलर जोडे । यो भनेको विश्वका धनाढ्य एलन मस्क, जेफ बेजोस र बर्नार्ड अर्नाल्टको सम्पत्तिभन्दा धेरै हो ।
हुरुन इन्डियाका प्रबन्ध निर्देशक एवं अनुसन्धानकर्ता अनस रहमान जुनैदका अनुसार भारत अर्बपतिहरुको संख्याका आधारमा मात्रै होइन, कम्तीमा १ अर्ब डलर सम्पत्ति जोड्नेहरुको लिस्टलाई हेर्दा पनि तेस्रो नम्बरमा पर्छ । अहिले भारतमा २१५ जना अर्बपतिहरु छन् । चीनमा सबभन्दा धेरै ११३३ र अमेरिकामा ७१६ जना अर्बपतिहरु छन् ।
सम्पत्ति जोड्ने विषयमा अम्बानी आठौं नम्बरमा
रिपोर्टअनुसार सन् २०२२ को सूचीमा अडानीले सर्वाधिक सम्पत्ति जोडे । उनीपछि क्रमशः गुगलका सहसंस्थापक लेरी पेज, सर्गेई ब्रिन तथा लग्जरी सामानसँग जोडिएको समूह एलभीएमएसका संस्थापक तथा मुख्य कार्यकारी अधिकृत बर्नार्ड अर्नाल्ड छन् । सोही स्थितिमा अम्बानी आठौं नम्बरमा छन् ।