काठमाडौं । जनमुक्ति सेनाहरुले शिविरमा रहँदा आफू र आफ्नो परिवारलाई उपचार गराउन सहज होस् भनी २०६४ सालमा स्थापना गरेको जनमैत्री अस्पताल अहिले बिक्री भइसकेको छ । लामो समयदेखि चलिरहेको विवादका कारण बन्द रहेको सो अस्पताल केही समयअघि मात्र उद्योगी एवं राज्यमन्त्री उमेश श्रेष्ठको समूहले १ अर्ब २५ करोड रुपैयाँमा खरिद गरिसकेको छ ।
जनमुक्ति सेनाको लगानी रहेको सो अस्पताल अर्थमन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वकृषिमन्त्री बलदेव खनालले बिक्री गरेका हुन् । जनमैत्री फाउन्डेसनका तर्फबाट अर्थमन्त्री शर्माले नै राज्यमन्त्री श्रेष्ठसँग डिल गरेका थिए । राज्यमन्त्री श्रेष्ठको समूहमा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा र उमेश पाण्डे छन् । पूर्वअर्थमन्त्री खतिवडाले भने आफ्ना छोरा डा. दिपेन्द्र खतिवडाको नाममा सेयर राखेका छन् ।
राज्यमन्त्री श्रेष्ठलाई अस्पताल बिक्री गरेको खुलासा भएसँगै अहिले पूर्वजनमुिक्त सेनाले आफ्नो भाग खोज्दै आएका छन् । ‘सरकारले कोभिड अस्पतालका रुपमा चलाउने निर्णय गरेकाले मात्र हामीले ताला नलगाएका हौं’, एक पूर्वजनमुक्ति सेनाले भने, ‘अवस्था सामान्य हुनेबित्तिकै ताला लगाउँछौं ।’
शिविरमा रहँदा विभिन्न सपना देखी आफ्नो गाँस कटाएर जम्मा गरेको पैसाले अस्पताल खरिद गरे पनि अहिले केही अमुक व्यक्तिले सुटुक्क अस्पताल बिक्री गरेको भन्दै पूर्वजनमुक्ति सेनाहरु रुष्ट बनेका हुन् । स्रोतका अनुसार अहिले दैनिकजसो जनमुक्ति सेनाले श्रेष्ठसँग आफ्नो भाग मागिरहेका छन् ।
केही समयअघि श्रेष्ठले अर्थमन्त्री शर्मालाई अस्पतालको पैसा बुझाउने क्रममा असन्तुष्ट सेनालाई पनि समेट्ने प्रयास गरेका थिए । तर, अहिले सेनाहरु पनि विभाजित भएका छन् ।
अस्पताल खरिदका लागि शिविरमा रहेका सेनाले ५ करोड र चितवनमा रहेको तेस्रो डिभिजनबाट ५ करोड गरी कुल १० करोड रुपैयाँ जम्मा गरेका थिए । त्यस बेला सबैभन्दा बढी तेस्रो डिभिजनका सेनाले रकम बुझाएका थिए । बाँकी नपुग रकम नेताहरुले नै जोहो गर्ने सहमति भएको एक पूर्वजनमुक्ति सेनाले जानकारी दिए ।
माओवादीका नेताहरु नै छुट्टाछुट्टै दल खोलेर बसेका कारण क–कसको चित्त बुझाउने भन्ने तनावमा अहिले राज्यमन्त्री श्रेष्ठ छन् ।
जनमुक्ति सेनाले अर्थमन्त्री शर्माले आफूहरुको हिसाबकिताब सार्वजनिक नगरेसम्म सहज रुपमा अस्पताल चलाउन नदिने चेतावनीसमेत दिँदै आएका छन् । यसअघि पनि सो अस्पतालमा पूर्वजनमुक्ति सेनाले ताला लगाएका थिए । त्यति मात्र होइन, अस्पतालमा काम गरेबापत कर्मचारीले पनि तलब नपाएको भन्दै ताला लगाएका थिए ।
अस्पतालका लगानीकर्तामध्येकै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र राज्यमन्त्री श्रेष्ठले सेटिङ मिलाएर कोभिड अस्पतालको रुपमा चलाउने निर्णय गरेका थिए । केही समय सो अस्पताललाई सञ्चारकर्मी रवि लामिछानेले समेत कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याएका थिए । यद्यपि, सञ्चारकर्मी लामिछाने अहिले सो अस्पतालबाट बाहिरिइसकेका छन् ।