काठमाडौं । नाडाका अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक रितेशकुमार शाक्यसँग भेटी करसम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको छ ।
उक्त भेटघाट तथा छलफलको क्रममा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष सञ्चालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दे आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दे नाडाले निकट भविष्य मै ७ वटै प्रदेशमा आयोजना गर्ने करसम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गरे ।
सो क्रममा अध्यक्ष थापाले सवारी साधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिवृद्धि करको विलविजक काटन ढिलाई हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने कुराको जानकारी गराउदै सो व्यावहारिक कठिनाइको सहजीकरणका लागि आग्रह समेत गरे ।
सो छलफलको क्रममा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर विल जारी गरी सो विलमा एचएस. कोडसमेत उल्लेख गरिनुपर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनाधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनु पर्ने धारणा राखे ।
छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल व्यवसायीहरुलाई मूल्य अभिवृद्धिकरमा अनिवार्य दर्ता गर्नुपर्ने विषयलाई कडाइकासाथ लागु गर्ने व्यवस्थाका लागि अनुरोध गर्देे अनलाइन भुक्तानीको व्यवस्थाका लागि समेत आग्रह गरे ।
छलफलको अन्तमा महानिर्देशक शाक्यले सिष्टममा सुधार गरिने, खुला सीमा राज्य कै समस्या भएको, सबै करदताहरुका लागि एउटै व्यवस्था गरिने बताउँदै आवश्यक सबै राय सुझावहरु राखिदिन आग्रह गरे । त्यसैगरी सो छलफलमा उपमहानिर्देशक अर्र्जुनप्रसाद भट्टराईले व्यवसायीहरुले बिलविजकहरु यथासक्य छिटो काटने व्यवस्थाका लागि आग्रह समेत गरे ।
उक्त छलफलमा विभागमा उपमहानिर्देशकहरु गोविन्दप्रसाद सुवेदी र रमेश शर्मा पौडेल समेतको उपस्थिति रहेको थियो । छलफलमा निर्देशक पदमकुमार श्रेष्ठ समेतको उपस्थिती रहेको थियो । सो छलफल तथा भेटघाटमा नाडाका सचिव विक्रम सिंघानिया,कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवालको समेत सहभागिता थियो ।