ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि ई–सेवाका एजेन्ट नेटवर्क (जोन, पोइन्ट तथा क्यासपोइन्ट) बाटसमेत प्राप्त गर्न सकिने भएको छ ।
ई–सेवा मनी ट्रान्सफरमार्फत आएको रेमिट्यान्स यसका १० हजार बढी भुक्तानी केन्द्रसँगै देशभरका १ लाख ३० हजारभन्दा बढी जोन, पोइन्ट तथा क्यासपोइन्टमार्फत पाइन्छ ।
ई–सेवा मनि ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्र्याउँदै भुक्तानी प्रणालीको सेवा दिँदै आइरहेकोे छ । यी दुई कम्पनी एफवान सफ्ट इन्टरनेसनलअन्तर्गतका भगनी संस्था हुन् ।
त्यस्तै, यसका एजेन्ट नेटवर्कबाट मनी ट्रान्सफरमार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन र प्राप्त गर्न सकिनेछ भने विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो ई–सेवा वालेटमा प्राप्त गर्दा अतिरिक्त ७७ रुपैयाँ बोनससमेत प्राप्त गर्न सकिनेछ ।
सन् २००९ मा स्थापना भएको यो कम्पनी नेपालको पहिलो डिजिटल वालेट हो । नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस प्रोभाइडरको लाइसन्सप्राप्त ई–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
यसमा हाल ५१ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट सहजै ई–सेवामा रकम जम्मा गर्न तथा बैंक खातामा पठाउनसमेत सकिन्छ ।