काठमाडौं । तनहुँको बन्दिपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकार धमाधम निर्माण भइरहेको छ । विकासकर्ता बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले ढिलोमा २०८० को वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
हाल केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । होटल निर्माणको काम पनि तीव्रतापूर्वक भइरहेको बन्दीपुर केबलकारका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
पहिलो चरणमा बटन स्टेसन, केबलकार, होटल भवन, रेस्टुरेन्ट र पार्किङ संरचनाको काम सकिने छ । दोस्रो चरणमा हिलटपमा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ ।
बेसमेन्टसहित होटल १७ तलाको हुनेछ । केबुलकार सीधै होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
अहिले होटलको कोठा संख्या ६६ बाट बढाएर ८७ पुर्याइएको छ । सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ । होटलसहितको केबलकार संरचना बनाउन २ अर्ब ६० करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।
संस्थापकहरुको स्वपुँजी (इक्विटी) ३९ र ६१ प्रतिशत बैंकहरुको लगानी हुने गरी संरचना तयार पारिएको छ । विकासकर्ता बन्दीपुर केबलकारमा नेपाल एसबीआई बैंकको अगुवाइमा एनएमबी बैंकको ऋण लगानी रहेको छ ।
बन्दीपुर गाउँपालिका–४ ठूलढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ । ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने छ । केबुलकार १.६ किलोमिटरको हुनेछ ।
परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको बताइएको छ ।