काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग उद्योगी व्यवसायीले छलफल गरेका छन् ।
छलफलका क्रममा पछिल्लो अर्थतन्त्रका अवस्था बारेमा उद्योगी व्यवसायीले थापालाई व्रिफिङ गरेका थिए । सोही क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्तमा भइरहेको ढिलाइप्रति व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
अर्थतन्त्र संकटाेन्मुख भइरहँदा एकतर्फ अर्थ मन्त्रालय चासो नदिएको र उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको क्षेत्राधिकारमा जथाभावी हस्तक्षेप गरेको भन्दै उनीहरूले गुनासो गरेका थिए ।
उद्योगमन्त्री नभएको मौकाको फाइदा उठाउँदै अर्थ मन्त्रालय र राष्ट्र बैंकले जथाभावी आयातमा हस्तक्षेप गरेको उनीहरूले बताएका थिए । आयातमा भएको हस्तक्षेपले आफ्नो व्यापार व्यवसाय प्रभावित भएको र सरकारको राजस्व घटेको उनीहरूले बताएका थिए ।
वस्तु आपूर्तिलाई राष्ट्र बैंकको नगद मार्जिनको नीतिले असर गरेको भन्दै यसले वस्तुको अभाव र मूल्यवृद्धि हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका थिए । सरकारले विदेशी लगानी भित्र्याउन वातावरण निर्माण गर्न नसकेको, भुक्तानी सन्तुलन घाटा बढ्दै गएको, रेमिट्यान्स घटेको, विदेशी विनियम सञ्चितिमा दबाब रहेको लगायतका विषय वस्तुमा महामन्त्री थापालाई व्यवसायीले बिफ्रिङ गरेका थिए ।
यी समस्या समाधान गर्नका लागि नेपाली कांग्रेसबाट अनुभवी नेता उद्योगमन्त्री बन्नुपर्नेमा उनीहरूले जोड दिएका थिए । नेपालको निजी क्षेत्रको भरोसाको केन्द्र नेपाली कांग्रेस भएकाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पनि नेपाली कांग्रेसबाटै नियुक्त हुनुपर्ने माग महामन्त्री थापासँग राखेको बताइएको छ ।
अन्य दलहरूले निजी क्षेत्रको भावनाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले उद्योगमन्त्री कांग्रेसले नै लिनुपर्नेमा उनीहरूले जोड दिएको बताइएको छ ।