गोरखा । मनकामना दर्शन प्रालि र गोरखाको सहिद लखन गाउँपालिकबीच सम्झौता भएको छ ।
सम्झौताबमोजिम मनकामना दर्शनले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम वडा नं २ र ३ (साविक मनकामना नमुना गाउँ विकास क्षेत्र) अन्तर्गत प्रभावित क्षेत्रको विकास निर्माण तथा अन्य सहयोगका लागि खर्चिने गरी केबुलकार सेवा आम्दानीको मु.अ.कर र अन्य करबाहेक १ प्रतिशत रकम गाउँपालिलाई त्रैमासिक तवरले उपलब्ध गराउनेछ ।
यो रकम प्रभावित क्षेत्र वडा नं २ र ३ को समन्वयमा विकास निर्माणका कार्य र मनकामना मन्दिरलगायत वडा नं. २ र ३ का धार्मिक क्षेत्रको विकास निर्माण, सम्वद्र्धन, जिर्णोद्धारलगायतका भौतिक पूर्वाधार विकास कार्यका लागि खर्च गरिनेछ ।
सम्झौताअनुरुप वडा नं. १ का बक्रेश्वर र ल्होप्पा गाउँ, वडा नं ५ का तोरेन र पोखरीडाँडा गाउँका स्थानीय बासिन्दा तथा वडा नं. २ र ३ का नागरिकका नातेदार (छोरी ज्वाइँ र भान्जा भान्जीलाई) प्रक्रिया पूरा गरी प्रचलित साधारण भाडादरमा ८० प्रतिशत छुट सहुलियत प्रदान हुनेछ । यस्तै वडा नं २ र ३ मा कार्यरत कर्मचारीहरु तथा विभिन्न व्यवसायमा कार्यरत श्रमिकहरुलाई ६५ प्रतिशत छुट हुनेछ ।
साथै गाउँपालिका र मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरु र वडा नं २, ३ तथा वडा १ र ५ को माथि उल्लिखित टोलबाहेक गाउँपालिकाका अन्य नागरिकलाई मनकामना दर्शनमा २५ प्रतिशत छुट हुनेछ । यसबाहेक मनकामना दर्शनले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले केबुलकारबाट यात्रा गर्दा लगेजको रूपमा ल्याएको २० केजीबराबरको घरायसी सामानहरू निःशुल्क ढुवानीको व्यवस्थासमेत गर्नेछ ।
सम्झौतामा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगर र मनकामना दर्शन प्रालिका तर्फबाट कार्यकारी सञ्चालक राजुबाबु श्रेष्ठले हस्ताक्षर गरेका थिए ।