काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका हरेकजसो भाषण राजनीतिक मुद्दामै केन्द्रित हुन्छन् । समसामयिक राजनीतिक मुद्दामा थापा तर्कसहित दरिलो रुपमा प्रस्तुत हुन्छन् ।
युवापुस्ताबीच लोकप्रिय नेताको छवि बनाएका थापा राजनीतिक मुद्दालाई जनस्तरले बुझ्ने गरी व्याख्या गर्न सक्षम मानिन्छन् । उनको सरल र सजिलै बुझिने भाषणले धेरै सर्वसाधारणको मानसिकता परिवर्तन गराएको छ । केही समयअघि अमेरिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का बारेमा जनस्तरमा बनेको नकारात्मक धारणालाई थापाले सजिलै सकारात्मक बन्ने गरी बुझाए ।
एमसीसीको मुद्दा संसदबाट टुंगिइसकेको छ । अहिले थापा देशको वर्तमान आर्थिक अवस्था बुझ्न उद्योगी, व्यवसायी, अर्थशास्त्री र सरोकारवालासँग सघन छलफलमा छन् । त्यसैअनुरुप थापाले मंगलबार (आज) होटल याक एन्ड यतीमा देशका प्रतिष्ठित उद्योगी÷व्यवसायीसँग देशको वर्तमान आर्थिक अवस्था बुझ्दै छन् ।
उनले ३ बजे उद्योगीसँग छलफल गर्दैछन् ।
आर्थिक रूपमा देश कठिन मोडमा पुगेको छ । केन्द्रीय बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार भुक्तानी सन्तुलन इतिहासकै सबैभन्दा बढी २ खर्ब ४७ अर्ब पुगेको छ । चालू खाता घाटाले पनि नयाँ रेकर्ड राख्दै ४ खर्ब १३ अर्ब छोएको छ । रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ ।
त्यसका अलवा उद्योगी/व्यवसायीको मनोविज्ञान नराम्ररी बिग्रिएको छ । बैंक नयाँ कर्जा दिन सक्ने अवस्थमा छैनन् । पुरानो ऋणको ब्याज धमाधम बढिरहेको छ । केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन आयात निरुत्साहित गर्न खोजेको छ । त्यसको असर ७ महिनामा सामान्य देखिएको छ ।
यस्तो अवस्थामा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा महामन्त्री थापा उद्योगी÷व्यवसायीसँग छलफल गर्न खोज्नुले सकारात्मक सन्देश मात्रै दिएको छैन, अर्थतन्त्रमा देखिएको समस्यासमेत हल हुन सक्ने आशा जगाएको छ । कारण, केही दिनमा गठबन्धनको बैठक हुँदैछ । त्यहाँ थापाले अर्थतन्त्रका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालसहितका नेताहरुका बीचमा वर्तमान अर्थतन्त्रबारे बोल्न सक्नेछन् ।
तीन दलका प्रमुख नेताबीच अर्थतन्त्रले स्पेस पाउने सम्भावना छ । त्यसैको आशमा उद्योगी÷व्यवसायीले वास्तविक अवस्था बताउन थालेका छन् । थापासँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहित अन्य धेरै उद्योगी/व्यवसायी हुनेछन् ।
नेपालको अर्थतन्त्र अन्तर्राष्ट्रिय कारणले प्रभावित बनेको छ । डलरको मूल्य उचालिनु, तेलको मूल्य निरन्तर आकासिनु, हरेक कच्चा पदार्थको मूल्य दोब्बर भएकाले नेपाल अर्थतन्त्र धर्मराएको हो । त्यसका लागि के के गर्न सकिन्छ भनेर थापाले छलफल गर्नेछन् । उद्योगी÷व्यवसायी, अथशास्त्रीलगायतले दिएको सुझावका आधारमा थापाले गठबन्धनको बैठकमा आफ्नो भनाइ राख्ने बुझिएको छ ।
अर्थतन्त्रप्रति अर्थमन्त्री जिम्मेवार नदेखिएपछि सत्ता साझेदार दलकै नेताहरु अर्थतन्त्रबारे चिन्ता प्रकट गर्न थालेका छन् । वैशाखमा स्थानीय तहको चुनाव छ । बिग्रिएको अर्थतन्त्र लिएर कांग्रेस चुनावमा जान सक्दैन । अर्थतन्त्र बिग्रियो भने त्यसको सम्पूर्ण दोष नेपाली कांग्रेसको काँधमा जान्छ । उसको नेतृत्वमा सरकार हुने र अर्थतन्त्र बिग्रिने अवस्था आए भविष्यमा कांग्रेसमाथि नराम्रो दाग लाग्ने डर छ । सोही कारण पनि थापाले सक्रियता बढाएका बुझिएको छ ।
अहिले अर्थतन्त्रमा ३/४ वटा कुरा टड्कारो रुपमा देखा परेका छन् । अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर दबाबमा छ । उद्योगी व्यवसायीको मनोबल बिग्रिएको छ । बैंकले थप ऋण प्रदान गर्न सक्ने अवस्था छैन । ऋणको ब्याज दोहोरो अंकमा पुगेको छ । यो अवस्थाबाट बाहिर निस्किन सरकारले नीतिगत तहमा काम गर्नुपर्ने हुन्छ ।
तर, अहिलेसम्म त्यसको थालनी भएको देखिँदैन । त्यही भएर थापाले अर्थमन्त्रीलाई चिन्ता व्यक्त गर्न लागेको बुझिएको छ ।