काठमाडौं । कच्चा पदार्थमा ठूलो रकम बाहिरिएको र बजारबाट उठ्नुपर्ने उधारो नउठेपछि उद्योगमा काम गर्ने कर्मचारीलाई तलब खुवाउन उद्योगीहरुलाई सकस भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदा उद्योगीले दोब्बर पैसा पठाउनुपर्यो । त्यसबाहेक बजारमा उठ्नुपर्ने रकम नउठेपछि अहिले नाम चलेकै उद्योगले विगत दुई महिनादेखि आफ्ना कर्मचारीलाई तबल खुवाउन सकिरहेका छैनन् ।
‘विगतमा महिना बितेको दुई दिनमै बैंकको खातमा तलब आउँथ्यो । तर, अहिले दुई महिना बित्दा पनि आएको छैन’ एक कम्पनीमा काम गर्ने कर्मचारीले गुनासो पोखे ।
एकातिर बैंकले नयाँ कर्जा दिएका छैनन् । अर्कोतिर बजारबाट उठ्नुपर्ने उधारो उठ्न सकेको छैन । सरकारले पुँजीगत खर्च नगर्दा बजारमा तरलता अभाव चरम छ । यता उद्योगमा पनि नगद अभाव भएकाले आफ्ना कर्मचारीलाई सेवा–सुविधा दिन सकस भएको हो ।
पैसाको रोटेसन र अर्थतन्त्रको चक्र बिग्रिएकाले समस्या विकराल भएको उद्योगीहरू बताउँछन् । महँगो मूल्यमा ल्याएको कच्चापदार्थ र उत्पादित सामग्रीसमेत गोदाममै थन्किएर बस्दा उद्योगीहरू क्यास फ्लोको समस्यामा परेका हुन् ।
यही चैतमा उद्योगीले बैंकको ब्याज र सरकारलाई कर बुझाउनुपर्ने हुन्छ । पुसमा बैंकहरुबाटै ऋण लिएर बैंकको ब्याज र सरकारलाई कर बुझाएका उनीहरुलाई फेरि चैतको चिन्ताले सताउन थालेको छ । यति बेला उद्योगीहरु आर्थिक संकटबाट गुज्रिरहेका छन् ।
बजारमा माग ४० प्रतिशतले घट्नु, वार्षिक कारोबारको ५ प्रतिशतभन्दा बढी रकम उधारो लैजाने फर्मले भुक्तानी गर्न आनाकानी गर्नु, कच्चापदार्थ मूल्य र ढुवानी लागत अचाक्ली बढ्नु लगायतका कारणले आर्थिक संकटमा परेको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए ।
‘माग नै नभएपछि उत्पादन बढी उत्पादन गर्ने कुरा भएन’, उनले भने, ‘अर्कोतर्फ नगदमा पनि सामान बिक्री हुँदैन । बजारमा गएको उधारो सामानको भुक्तानी आएको छैन । यस्तो बेलामा माग्न पनि समस्या छ । र, कच्चापदार्थ आयातमा पनि उस्तै समस्या भोग्नुपरेको छ ।’
अहिले, सिमेन्ट, स्टिल, औषधि उद्योग चल्न गाह्रो भएको उद्योगी राजेशकुमार अग्रवाल बताउँछन् । उनका अनुसार उद्योगहरु आर्थिक समस्यामा छन् । नगद प्रवाह मात्रै सहज हुने हो भने पनि उनीहरु रिभाइज हुने प्रयासमा लाग्ने थिए ।