काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग वस्तु मौज्दात मागेको छ । रुस–युक्रेन युद्धका कारण विश्वको आपूर्ति व्यवस्था बिथोलिएको भन्दै अहिले बजारमा दैनिक उपभोग्य वस्तुदेखि निर्माण समग्रीसम्मको मूल्य अचाक्ली बढेको छ ।
युद्धका कारण युक्रेन र रुसबाट कुनै पनि वस्तु विश्व बजारमा निर्यात हुन सकेको छैन् । त्यसको चाप अन्य बस्तुमा परेको छ । जस कारण अन्तर्राष्ट्रिय बजारमा माग उच्च हुँदा वस्तुको मूल्य उच्च हुँदै गएको उद्यागीहरु बताउँछन् ।
रुस–युक्रेन युद्धका कारण अहिले नेपालमा त्यसको सबैभन्दा बढी असर खाने तेलमा परेको छ । उद्यागीहरुले सनफ्लावर तेलको ९० प्रतिशत कच्चा पदार्थ युक्रेनबाट आयात गर्ने गरेका छन, भने बाँकि १० प्रतिशत रुसबाट आयात गर्ने गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्म १२ अर्बको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको छ । जसमा ९ अर्बको कच्चा पदार्थ युक्रेनबाट र २ अर्ब ५८ करोडको कच्चा पदार्थ रुसबाट आयात भएको छ ।
रुस र युक्रेनबाट विश्व बजारमा सनफ्लावरको कच्चा पदार्थ आपूर्ति हुन नसकेपछि त्यसको चाप सोयाविनमा परेको छ । युद्ध सुरु भएपछि एक सातामै सोयाविनको मूल्य प्रति टन १५९० सय डलरबाट बढेर १७ सय डलरमाथि पुगेको थियो । तर अहिले पुनः घटेर प्रतिटन १६ सय डलरमा झरेको छ । जुन ४ महिना अघि अर्थात् नोभेम्बर ४ मा प्रतिटन ११ सय ९० डलरमा कारोबार भइरहेको थियो ।
त्यस्तै डलर र पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै दैनिक दाल, चालम, चिनीलगायतका वस्तुको मूल्य किलोमै १० देखि १५ रुपैयाँले बढेको छ । विभिन्न कारण देखाउँदै उद्योगी व्यापारीहरुले वस्तुको मूल्य बढाउन थालेपछि विभागले मौखिक रुपमा मौज्दातको विवरण माग गरेको विभागका प्रवक्ता हरि पंगेनीले बताएका छन् । ‘अहिले बजारमा मूल्य बढेका सबै बस्तुको विवरण माग गरेका छौं तर आइपुगेको छैन, पंगेनीले भने । एक साताको समय दिइएको भए पनि तथ्यांक संकलन भएपछि ३ दिन आफूलाई क्रस चेक गर्न समय लाग्ने उद्योगी बताउँछन् ।
युद्ध सुरु भएकै दिनबाट नेपाल खाने तेल प्रति लिटर ४० रुपैयाँ बढाएर २८० पुर्याइएको छ । बिभागले खाने तेलको मौज्दात माग गरेको एक साता भएपनि उद्योगिले मौज्दात दिएका छैनन् । त्यस्तै लागत महँगो भएको भन्दै उद्योगीले चिनीको मूल्य प्रतिकेजी १० रुपैयाँले बढाएपछि चिनी उद्योगीसँग पनि मौैज्दात मागेका छ । तर, हालसम्म कसैले पनि उपलब्ध गराएका छैनन् । यसअघि दाना उद्योगीले पुसमा दानाको मौज्दा विभागलाई बुझाएको थियो ।
त्यस्तै पेट्रोलियम पदार्थ महंगो भएको भन्दै स्टिल उद्यागीहरुले डण्डी तथा छड्को मूल्य प्रति केजी १५ देखि २० रुपैयँले बढाएका छन् । पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च भएको र उद्यागीहरुले उद्योग डिजेलबाट चलाउनु पर्दा लागत बढेको भन्दै मूल्य बृद्धि गरेका हुन् । वाणिज्य विभागले स्टिल उद्योगीलाई पनि एक साताको सय दिएर मौज्दात माग गरेको छ । त्यस्तै आइतबार अम्बे स्टिललाई ३५ मेगवाट विद्युत उपलब्ध गराएपछि छड्को मूल्य घट्ने बताईए पनि घटेको भने देखिएको छैन ।