काठमाडौं । आर एण्ड डी इनोभेसन सोलुसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले एसियामै पहिलोपटक ‘कृषिकर्जा मेला’ आयोजना गर्ने भएका छन् । आगामी चैत ९ देखि १२ गतेसम्म चितवनको भरतपुरमा मेला आयोजना गर्ने भएका हुन् ।
कृषिकर्जा विस्तार गर्ने र वास्तविक किसान पछाडि नपरोस भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । साथै बैंकहरुलाई कृषिकर्जा व्यवसाय विस्तारमार्फत बजार प्रबद्र्धनमा सहयोग पुर्याउने, नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषि कर्जाको राष्ट्रिय संवाद एंव कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोज पुर्याउने मेलाको उद्देश्य रहेको छ ।
नबिल र कृषि विकास बैंकको मुख्य प्रायोजनमा आयोजना हुन लागेको सो कार्यक्रममा १ लाख कृषक सहभागि हुने अपेक्षा गरिएको छ । कृषिमा बैंकहरुले लगानी गर्ने विषयमा ढुक्क हुन कृषि विकास बैंकका बाबुकाजी थापाले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘व्यवासयीले प्रक्रिया पुर्याएर आएमा बैंकहरुले कृषिमा लगानी गर्छन्, यसमा समस्या हुँदैन ।’ त्यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले अबका सन्तानले कृषिमा लगानी गर्ने तथा किसान बन्ने अवस्था सिर्जना गर्नु पर्ने बताएका छन् । ‘आफ्नो आमा–बुबा किसान हो भन्न अहिलेको पुस्ता लजाउँछन्, त्यो अवस्थाको अन्त्य हुनु पर्छ । त्यसको लागि परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्नु पर्छ र बैंकहरुले कृषिमा लगानी गर्दैनन् भन्ने भ्रम पनि हटाउनु पर्छ’ सीईओ शाहले भने ।
कृषिकर्जा मेलाको सहयोगीमा बैंकर्स एसोसियसन, शिखर इन्सुरेन्स, फोन पे र डेभ्लपमेन्ट एलायन्स नेपाल रहेका छन् ।