पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ ।
पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म संचालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।
बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले बिहानको सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दूरी सेती बगरदेखि सराङकोटसम्म २ हजार ४०० मिटर रहेको छ भने सेती बगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई ९÷१० मिनेटमै पार गर्न सकिने बनाएको छ ।
१७ वटा गोन्डुला रहेका र एउटामा ८ जनासम्म बसेर यात्रा गर्न सकिने बताइएको छ । साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सक्ने कम्पनीले जनायो ।
कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको छ ।
यस्तै ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसै गरी विधार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी २ अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । सुरुमा १ अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुले गर्दा लागत बढेको हो ।
कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।