काठमाडौं । मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स ल्याएको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो पछिल्लो उत्पादनबारे जानकारी गराएको हो ।
साे उद्योगले सुपर प्रिमीयम चाउचाउअन्तर्गत करेन्ट मसरुम नुडल्स, करेन्ट चिज एन्ड बटर, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको छ । सुपर प्रिमीयम चाउचाउअन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिली प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको बजार मूल्य १२० र तौल १२० ग्राम छ ।
फेमिली प्याकमा २० पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जासमेत सार्वजनिक गरिएको छ । चिज बल्स पारखीका लागि चिज बल्सअन्तर्गत चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिजबल्ससमेत सार्वजनिक गरियो ।
विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको दाबी कम्पनीको छ । साे चाउचाउ नेपालमा मात्र नभई भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उद्योगले जनाएको छ ।