काठमाडौं । दानाजन्य कच्चा पदार्थमा भएको मूल्यवृद्धिका कारण अत्यधिक मूल्य बढेको भन्दै व्यवसायीले सरकारले लिँदै आएको कर घटाउन माग गरेका छन् ।
नेपाल दाना उद्योग संघले एक विज्ञप्ति जारी गर्दै विभिन्न वस्तुको आयातमा लगाइरहेको कर घटाउन सरकारसँग माग गरेका छन् ।
दाना बनाउन प्रयोग हुने कच्चापदार्थ मकै, भटमासको पिना, औषधि, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको अस्वाभाविक मूल्यवृद्धिबाट उत्पादन लागत बढेको संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
आव २०७४/७५ को बजेटसम्म दाना उद्योगलाई आवश्यक कच्चापदार्थ (मकै तथा भटमासको पिना) को भन्सार महसुल १.६ प्रतिशत रहेको र सो दर २०७५/७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशतसम्म कृषि सुधार शुल्क बढाइएकाले स्वतः दानाको मूल्य बढेको संघले जनाएको छ ।
‘यस्तै पशुपन्छीको आहारमा प्रयोग हुने धेरैजसो कच्चा पदार्थहरुको मूल्य बढेसँगै दानाको मूल्य पनि बढेको छ । विगत २ महिनादेखि सदर १०० रुपैयाँ प्रति केजी रहेको भटमास पिना ११५ र ३८/३९ रहेको मकैको दर ४७ रुपैयाँ प्रतिकेजी छ । यसले गर्दा दानाको उत्पादन लागत बढेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै कृषकले उत्पादन गर्ने कुखुरा र अन्डाको लागत मूल्य पनि बढेको छ । मासु÷अण्डा उत्पादन लागतमा दानाको ६० प्रतिशत हाराहारी योगदान रहन्छ ।’
संघका अनुसार दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको छ । मकै करिब ६० प्रतिशत खपत हुन्छ भने भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५–३२ प्रतिशत हुन जान्छ । सोही कारण यसको प्रत्यक्ष प्रभाव दानाको मूल्यमा पर्ने समेत उल्लेख गरिएको छ ।
नेपालका दाना उद्योगमा १ खर्ब भन्दा बढीको लगानी रहेको र यस व्यवसायले १ लाख बढीलाई रोजगारी दिएको संघले बताएको छ । नेपालमा ११४ वटा दाना उद्योग रहेका, त्यसमा पनि ६० भन्दा बढी ठूलो लगानीका पेलेट फिड स्थापना भई उत्पादन गरिरहेका छन् । पोल्ट्री व्यवसायले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान पुर्याएको संघको भनाइ छ ।
यी हुन् संघका मागः
भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशतबाट घटाएर पुरानै दर १.६ प्रतिशत हुनुपर्ने ।
विगतमा बंगलादेशवाट सहजै भटमास पिना आयात भइरहेकामा हाल बंगलादेशबाट भारतमा समेत निर्यात हुन थालेपछि बंगलादेश सरकारले निर्यातमा रोक लगाएको छ भने तत्काल नेपालको तर्फबाट नेपाल निर्यात खुलाउन बंगलादेश सरकार समक्ष कूटनीतिक पहलका लागि काम गर्नुपर्ने ।
मकैमा लाग्दै आएको कर ५ प्रतिशतबाट घटाई पुरानै दर १.६ प्रतिशत कायम हुनुपर्ने ।
औषधिमा लाग्दै आएको कर १० प्रतिशतबाट घटाएर पुरानै दर १ प्रतिशत कायम हुनुपर्ने ।
दीर्घकालीन रुपमा यी र यस्ता समस्याहरु समाधान गर्न बृहत् रुपमा मकै तथा भटमास खेतीलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउने ।