काठमाडौं । उद्योग संगठन मोरङले बजारमा वस्तुको मूल्यवृद्धि कम गर्न सरकारलाई आग्रह गरेको छ । अहिलेको असहज अवस्था, विभिन्न कठिनाइ र विदेशी वस्तुसँग प्रतिस्पर्धाका बाबजुद स्वदेशी बजारको आवश्यकता पूर्ति गर्ने उद्देश्यले उत्पादनलाई निरन्तरता दिई आपूर्ति शृंखलालाई सन्तुलनमा राख्न सहयोग गर्दै आएका उद्योग व्यवसायका तथा आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्बन गर्न आग्रह गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै उद्योग संगठनले भनेको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा वस्तुको मूल्यवृद्धि हुँदा उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थलगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौती गर्ने प्रचलन भएकाले विश्वको हालको बदलिँदो परिस्थितिलाई मध्यनजर गरी स्थिति सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउनु पर्छ’, संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेनबीच जारी युद्धका साथै डलरको बढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्य सामग्री, निर्माण सामग्रीलगायत वस्तुको मूल्य निरन्तर बढेको छ ।
खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयाबिन तेल, क्रुड सनफलावर तेल, क्रुड पाम आयल र तोरिको दाना ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुबाट जनवरी २०२२ मा १५२५ डलरमा प्रतिमेट्रिक टनमा आयात भइरहेकोमा हाल आयात खर्च २१२५ डलरसम्म पुगेको उद्योग संगठन मोरङले जनाएको छ ।
साथै इन्धनमा भइरहेको मूल्यवृद्धिले तेस्रो मुलुकदेखि उद्योग परिसरसम्मको ढुवानी भाडा बढेको तथा बढ्दो बैंक ब्याज दरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भएको बताइएको छ ।
देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थ निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा उतार चढाब आउँदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको छ ।
कच्चा पदार्थको आयातमा बढ्दो लजिस्टिक कष्ट, ब्याजदरमा भइरहेको वृद्धि, चालू पुँजीको अभावबाट उत्पादनमूलक उद्योगहरुमा सिर्जित समस्या र हरेक क्षेत्रलाई महँगो भएको समयमा कुनै एक क्षेत्रलाई मात्र दोषारोपण गर्नु न्यासंगत नहुने संगठनले जनाएको छ ।