काठमाडौं । नेप्से , ब्रोकर, डाटा सेन्टर, वाइको र इन्टरनेट सर्भिस प्रोभाइडरबीच अन्तरआबद्धतामा समस्या आएको भन्दै सेयर बजार परिसूचक नेप्सेको वेबसाइड ०.१५ अंकको बिन्दुमा रोकिएको छ ।
ब्रोकरको खातासँग डाटा सेन्टर कनेक्सनमा समस्या आएको नेपाल स्टक एक्सेचेन्जका प्रवक्ता मुराहारी पराजुलीले बताए । ’नेप्सेको तर्फबाट नभई ब्रोकरको खाता र डाटा सेन्टरबीचको अन्तरआबद्धता टुटेकाले समस्या आएको हो’, उनले भने । प्रणालीहरुबीचको अन्तरआवद्धता कायम गर्ने प्रयास भइरहेको उनले बताए ।
यता वाइकोका प्रवन्ध निर्देशक दिपेश प्रधानले विभिन्न प्रणालीमा आएको समस्या समाधानका लागि प्रयास भइरहेको अबको १ घण्टाभित्र सञ्चालनमा आउने बताए । नेप्सेको टीएमएसमा समस्या आएपछि लगानीकर्ताहरु आक्रोसित भएका छन ।
आफ्नो सम्पत्ति जोखिममा पर्ने डर बढेको उनीहरुले बताएका छन । नेपालको कुल गार्हस्थ्य उत्पादनको हाराहारी मार्केट क्यापिटलाइजेसन भएको नेप्सेको कारोबार रोकिनुले लगानीकर्ताको सम्पत्ति जोखिममा पर्ने अवस्था आएको एक लगानीकर्ताले बताए ।
’४० लाख लगानीकर्ता जोडिएको वेवसाइडमा एकैपटक समस्या आउनुले हामीलाई शंका उक्जाएको छ । प्रणालीमा आएको समस्याले हाम्रो सम्पत्ति हरायो भने त्यसको जिम्मा कसले लिने’, ती लगानीकर्ताले भने ।
त्यस्तै अर्का लगानीकर्ताले नेप्सेको कारोबार ठप्प पारेर चलखेल भएको आशंका गरे । 'साइड नै डाउन गरेर बजारमा चलखेलको प्रयास त भएको होइन कतै । यस विषयको निष्पक्ष छानबिन हुनुपर्छ’, ती लगानीकर्ताले भने । ४० लाखभन्दा बढी लगानीकर्ता जोडिएको वेबसाइड राम्रोसँग व्यवस्थापन गर्न नसक्नु दुखद् पक्ष भएको भन्दै अधिकांश लगानीकर्ताले चिन्ता व्यक्त गरेका छन् ।