काठमाडौं । यती एयरलाइन्सले सगरमाथा क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा एयरलाइन्सले फोहोर उठाएको हो ।
पर्वतारोहण र पदयात्रा जस्ता गतिविधिबाट उत्पन्न भएका नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को सुरुआत १७ मार्च २०१८ बाट भएको थियो ।
दिगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण एसडीजी १५ र जलवायु परिवर्तन एसडीजी १३ सँग सम्बन्धित प्रतिबद्धतास्वरुप यती एअरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट एक सय टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरेर ‘रिसाइक्लिङ’का लागि ल्याउने महत्त्वकांक्षी लक्ष्य लिएको थियो । यसका लागि सेप्टेम्बर २०१९ मा ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना छ ।
सगरमाथा सफाइ अभियानका साझेदार संस्थाहरु सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहोर सङ्कलन गर्नेछन् ।
यसरी सङ्कलन भएको फोहर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ ।
यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट सङ्कलन गरी पुनः प्रयोगका लागि प्रशोधन गर्नेछ । सङ्कलन गरिएका फोहोरमा बियरका बोतल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरणलगायत हुन्छन् । यी वस्तुलाई ‘रिसाइकल’ गरी धातुका भाँडाकँुडा र निर्माण सामग्रीमा परिणत गरिने गरिएको छ ।