काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति दिएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
एनबी बैंकको एक्विजिसनपछि नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रूपमा स्थापित हुने देखिन्छ ।हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ ।
यस एक्विजिसनपछि हाल सहमत गरिएको स्वाप रेसियो अनुरूप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ । पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्बभन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसन पछि बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुने छ ।
यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरूमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएको छ ।
यसैगरी ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोडभन्दा बढी तथा एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा एक्विजिसन पछि बैंकको खुद मुनाफा २ अर्ब ९९ करोडभन्दा बढी कायम हुनेछ ।
यस एक्विजिसनपछि नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुने छ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २ सय ४१ र एटीएम संख्या २ सय ९२ पुग्ने बैंकले जनाएको छ ।