काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीमा प्रयोग हुने लिथियमको भाउ आकासिएपछि विद्युतीय गाडीको मूल्य पनि बढ्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो एक वर्षमा मात्रै लिथियको मूल्य ४८० प्रतिशतले बढेर प्रतिटन ४९ लाख ३५ हजार डलर पुगेको छ । एक वर्षअघि लिथियमको मूल्य प्रतिटन ८२ हजार डलर आसपास मात्रै थियो ।
विश्वमा उत्पादित ५४ प्रतिशत लिथियम रिर्चाजेबल ब्याट्रीमा प्रयोग हुने गरेको छ । सन् २०१० मा २८ हजार १०० टन लिथियम उत्पादन भएकामा ११ वर्षको अवधिमा यो बढेर १ लाख टन पुगेको छ । तर, बजार माग भने ६ लाख मेट्रिक टनभन्दा बढी छ ।
विश्व बजारमा विद्युतीय गाडीको माग उच्च हुँदै गएपछि विद्युतीय गाडीको ब्याट्रीमा प्रयोग हुने लिथियमको मूल्य पनि बढ्दै गएको हो । अटोमेकर्सको तथ्यांकअनुसार सन् २०१९ मा विश्व बजारमा २२ लाख विद्युतीय गाडी बिक्री भएका थिए । जुन २०२० मा बढेर ३० लाख पुगेको थियो ।
त्यस्तै २०२१ मा शतप्रतिशतभन्दा बढीले बढेर ६६ लाख विद्युतीय गाडी बिक्री भएको देखिएको छ । जसमा चीन एक्लैले ३४ लाख विद्युतीय कार बिक्री गरेको छ । सन् २०२१ मा युरोपियन बजारमा विद्युतीय गाडीको माग ७० प्रतिशतले बढेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ ।
सन् २०२१ सम्म विश्व बजारमा साढे १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री भएको तथ्यांक छ । जसमा चीनले मात्रै हालसम्म साढे ७० लाख वटा विद्युतीय गाडी बिक्री गरेको छ । हाल चीन विश्वमा सबैभन्दा बढी विद्युतीय गाडी उत्पादन र बिक्री गर्ने मुलुकमा पर्छ ।
विद्युतीय गाडीमा प्रयोग हुने रिचार्जेबल ब्याट्री लिथियमबाटै बन्ने गरेको छ । उक्त ब्याट्रीले समग्र गाडीको एक तिहाई मूल्य ओगट्छ । सन् २०२२ मा मात्रै विश्व बजारमा लिथियमको माग ४० प्रतिशतले बढेर ६ लाख ३६ हजार टन पुगेको छ । जुन २०२१ मा ४ लाख ९५ हजार टन थियो ।
लिथियमको माग अत्यधिक भए पनि भण्डारण भने सीमित छ । सबभन्दा बढी चिलीमा ८० लाख टन भण्डारण रहेको अनुमान गरिएको छ । तर, हाल यसको अधिक उत्पादन भने बढी अस्ट्रेलियाले गरिरहेको छ । उसले हाल विश्वको ४९ प्रतिशत आपूर्ति गरिरहेको छ । यस्तै चिलीले २२ प्रतिशत र चीनले १७ प्रतिशत आपूर्ति गरिरहेका छन् ।
ग्लोबल इकोनोमिक्सको रिपोर्टअनुसार २०२२ को मार्च दोस्रो सातासम्म चीनमा लिथियको मूल्य ७४ प्रतिशतले बढेर प्रतिटन ४ लाख ९३ हजार ५०० युआन पुगेको छ । वातावरणमैत्री हुनाका साथै पेट्रोलियम पदार्थको खपत घट्ने भन्दै विश्वमा अहिले विद्युतीय गाडीको माग दिन–प्रतिदिन बढ्दै गएको छ ।
सन् २०२१ मा चीनमा विद्युतीय गाडीको बिक्री १५७ प्रतिशतले बढेको छ । यसअवधिमा ३२ लाख वटा गाडी बिक्री भएको तथ्याँक छ । सन् २०२२ मा बढेर ५० लाख गाडी पुग्ने अनुमान गरिएको छ । तर, लिथियमको कमीले यसको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।
नेपालमा यस्तो छ विद्युतीय गाडीको अवस्था
चालू आर्थिक वर्षको बजेटमा सरकारले विद्युतीय सवारीसाधनलाई बढावा दिन भन्दै अन्तःशुल्क छुट दिनाका साथै भन्सारदर पनि १० प्रतिशतदेखि ४० प्रतिशतसम्म तोकेको छ । जसकारण चालू आवको ६ महिनासम्म ३ अर्ब रुपैयाँभन्दा बढीका ११ सय वटा चारपांग्रे गाडी, ३ हजार ६ सय वटा तीनपांग्रे अटोरिक्सा/टेम्पो आयात भएका छन् ।
वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिई विद्युत खपत बढाउने नीति सरकारले लिएको छ । तर, लिथियमको मूल्य आकासिएपछि त्यसको असर नेपालमा पनि बढ्ने निश्चित छ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएनका अध्यक्ष धु्रव थापा भने ब्याट्री उत्पादन बढेका कारण विद्युतीय गाडीको भाउ तत्काल नबढ्ने बताउँछन् ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा भन्सार शुल्कसँगै अन्तःशुल्क पनि बढाउँदा विद्युतीय गाडीको आयात घटेको थियो । तर, उक्त नियम परिवर्तन गरेपछि अहिले आयात बढ्दै गएको छ ।
विद्युतीय सवारीसाधन नै अबको आवश्यकता भएको भन्दै विश्वले नै यसलाई बढावा दिन थालेको छ । तथापि लिथियमको मूल्यवृद्धि भएसँगै विद्युतीय गाडीको मूल्यसमेत आकासिने देखिन्छ ।