काठमाडौं । निजगढ विमानस्थल निर्माणका विषयमा केही बुद्धिजीवीहरुले उत्तेजित गराउन खोजे पनि सरकार उत्तेजित नहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइको भनाइ छ ।
नेपाल वातावरण पत्रकार समूहले तयार पारेको निजगढ विमानस्थलसम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भने, ‘विमानस्थलको शिलान्यास हुँदा कालोझण्डा देखाउँछन्, त्यो थाहा छ तर, सरकार पछि हट््दैन ।’ अहिले केही बुद्धिजीवीहरु विमानस्थल निर्माणका क्रममा धेरै रुख काटिने भयो भन्दै विरोध गर्दै हिँडेको बताउँदै उनले स्थलगत अध्ययन गरेर कति काट्ने वा नकाट्ने भन्ने विषयमा छलफल गरी निर्णयमा पुग्ने बताए ।
‘सरकार पनि निजगढमा गएर ड्यामका ड्याम रुख काट्न चाँहदैन,’ मन्त्री भट्टराईले भने, ‘तर आवश्यक पर्ने रुख काट्छौं, त्यसका लागि सरकारले अध्ययन गरिरहेको छ ।’
निजगढको विषयमा अन्तर्राष्ट्रिय फोरममा पनि प्रश्न आएमा जवाफ दिन तयार रहेको बताउँदै उनले अहिले सगरमाथाको जवाफ दिँदै आएको बताए । ‘प्रसंग नै नभएको विषयमा प्रधानमन्त्रीले सगरमाथाको विषयमा जवाफ दिँदै आउनु भएको छ,’ मन्त्री भट्टराईले भने, ‘निजगढका लागि पनि जवाफ दिउँला ।’ उनले नेपालीहरुलाई विदेशमा गएर नेपालको विरोध नगर्न अनुरोध गर्दै विदेशमा गए पनि सबै नेपाली हौं भन्ने सोच्न र बुझ्न आग्रहसमेत गरे । केही महिनाभित्रै विमानस्थलको मोडालिटी तयार पार्ने भन्दै उनले विमानस्थल बन्नु पर्छ र बन्न हुँदैन भन्नेहरुबीच छिट्टै मन्त्रालयमा छलफल गरिने जानकारी दिए ।
वातावरण पत्रकार समूहका तर्फबाट पत्रकार राजाराम गौतमले प्रतिवेदन तयार पारेका थिए । सरकारलाई बुझाइएको प्रतिवेदनमा स्वीकृत वातावरण प्रभाव मूल्याङकन (ईआईए)को पूरक अध्ययन गर्न सुझाव दिइएको छ । विमानस्थल निर्माणका लागि विदेशीको मुख ताक्नुभन्दा स्वदेशी लगानीमै अघि बढाउन सुझाव दिइएको छ ।
विमानस्थल निर्माणका लागि ईआईएमा ८ हजार हेक्टर जमिन आवश्यक पर्ने भनिएकोमा त्यसको समीक्षा गरेर १ हजार ३ सय हेक्टर मात्र जमिन भएपुग्ने उल्लेख गरेका छन् । विदेशका ठूला विमानस्थलहरुको क्षेत्रफल पनि त्यही किसिमको रहेको जनाइएको छ ।