काठमाडौं । बिजुली उत्पादन थालेको देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सम्पत्तिको पुनर्बिमा भएको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सम्पत्तिको ४४ अर्ब रुपैयाँको बिमाङमा बिमा पोलिसी जारी गरी ८ करोड रुपैयमा बिमा शुल्क (प्रिमियम) लिएको छ ।
राष्ट्रिय बिमा कम्पनीले ६० लाख रुपैयाँ बिमा शुल्क राखेर बाँकी अन्य कम्पनीलाई बाँडेको छ । नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रि–इन्स्योरेन्स कम्पनीले तामाकोसीको पुनर्बिमा गरेका छन् । बाँकी रहेको रकम हिमालयन रिमार्फत विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा शुल्क लिएका छन् ।
आयोजना सम्पन्न भई उत्पादन थालेको ९ महिनापछि बल्ल आयोजनाको पुनर्बिमा भएको हो । जलविद्युतमा जोखिम बढेको भन्दै पुनर्बिमा कम्पनीहरुले आयोजनाको विदेशी पुनर्बिमा पुनर्बिमा शुल्क लिन अनाकानी गर्दा अन्योलत सिर्जना भएको थियो ।
सुरुमा बिमा कम्पनीले पनि पुनर्बिमा गर्न नमान्दा ढिलाई भएको राष्ट्रिय बिमा कम्पनीका उपप्रवन्धक माधव उपाध्यायले बताए । उनका अनुसार ४४ अर्ब रुपैयाँ बिमांकमा माथिल्लो तामाकोसीबाट ८ करोड रुपैयाँ प्रिमियम प्राप्त भएको छ । जसमा ४० प्रतिशत रकम स्वदेशमा बाँकी ६० प्रतिशत पुनर्बिमामार्फत विदेशमा गएको छ ।
कुल प्रिमियमको ६० लाख रुपैयाँ स्वयम् राष्ट्रिय बिमा कम्पनीले व्यर्होने छ । त्यस्तै नेपाल पुनर्बिमा कम्पनीले २० करोड वा २० प्रतिशत मध्ये एउटा व्यहोर्ने प्रावधान रहेकोमा उसले २० करोड रुपैयाँ बिमाङको लिएको छ ।
त्यस्तै २० प्रतिशत एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले राखेको छ । राष्ट्रिय बिमा कम्पनीले पहिलेनै सम्झौता गरेका कम्पनीहरुले निश्चित प्रतिशत राखेको उप–प्रवन्धक उपाध्यायले बताए ।
त्यस्तै हिमालयन रि–इन्स्योरेन्सले १ अर्ब रुपैयाँ बराबरको दायित्व बहन गर्ने भएको छ भने बाँकी रहेको रकम विदेशी कम्पनीमा पुनर्बिमा गराईएको छ । माथिल्लो तामाकोसीको ६० प्रतिशत रकम अर्थात झण्डै ५ करोड रुपैयाँ बाहिर गएको छ ।
नेपालका जलविद्युत आयोजनाको जोखिम बढेको तर बिमा शुल्क कम भएको भन्दै उक्त रकमले जोखिम उठाउन नकिने गुनासा विदेशी पुनर्बिमाबाट आएको थियो । पछि हालको प्रिमियममा पुनर्बिमा हुन नसक्ने अवस्था आएपछि बिमा समितिले एकै पटक औसत २५० प्रतिशतसम्म जलविद्युत कम्पनीहरको प्रिमियम शुल्क वृद्धि गरेको थियो ।
न्यून प्रिमियमका कारण जलविद्युत क्षेत्र प्रति पुनर्बिमा कम्पनीको घट्दो आकर्षण र बिमा कम्पनीको बढदो जोखिमलाई मध्यनजर गर्दै प्रिमियम शुल्क बढाइएको बिमा समितिको भनाइ छ ।
समितिमा अध्यक्ष सुर्यप्रसाद सिलवालले न्यून प्रिमियमका कारण माथिल्लो तामाकोसीको लामो समयसम्म पुनर्बिमा हुन नसकेको बताएका थिए । जलविद्युतको प्रिमियम औसत २५० प्रतिशतले वृद्धि गरिए पनि अझै पुनर्बिमा गर्न पुनर्बिमा कम्पनीले आलटाल गरिरहेका छन् । यता जलविद्युत लगानीकर्ताहरुले बिमा शुल्क दर अधिक बढाइएको भन्दो यसको पुनरावलोकनको माग गरेका छन् ।