काठमाडौं । फागुन १६ गतेकोे मन्त्रिपरिषदको निर्णयले हवाईमार्ग वा स्थलमार्ग भई नेपाल प्रवेश गर्ने यात्रुले कोभिड–१९ विरुद्धको पूर्णखोप लगाएको प्रमाणपत्र पेस गरे पीसीआर परीक्षण गर्न नपर्ने निर्णय गर्यो । यदि, खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरु गर्नु ७२ घण्टाभित्रिको कोभिड –१९ परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेस गरे क्वारेन्टाइनमा बस्न नपर्ने निर्णय गर्यो ।
फागुन २५ गते गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय २४ सैं घण्टा सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय गरे । मन्त्रालयले प्रहरी प्रधानकार्यालय नक्साल र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर जारी गर्दै होटल, रेष्टुराँ, पब, दोहोरी, क्लबलगायतका क्षेत्र २४ सैं घण्टा सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्था गरिदिन भनिएको छ ।
सरकारको यो दुई निर्णयले पछिल्लो समय कोभिडले थला परेको पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव पर्ने विश्लेषण व्यवसायीहरुले गरेका छन् । कोमामा पुगेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारको यी दुई निर्णय कोषेढुंगाको रुपमा सावित हुने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीको भनाइ छ ।
लामो समयदेखि व्यवसायीहरुले सरकारलाई यी मागहरु राख्दै आएकोमा अहिले आएर निर्णय हुनु खुसीको विषय भएको भन्दै सबै क्षेत्रमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ । ‘यो निर्णय केहि समय अघिनै हुनुपथ्र्यो, अध्यक्ष सुवेदीले भने, तर ढिला भए पनि राम्रो आएको छ’ ।
होटल एसोसिएसन अफ नेपाल (हान) का केन्द्रीय सदस्य एवंम होटल क्राउन प्लाजाका सञ्चालक युवराज श्रेष्ठले सरकारले गरेको पछिल्ला दुई निर्णयले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक प्रभाव परेको बताए ।
विदेशीहरु नेपाल आउन चाहे पनि प्रशासनिक झण्झटका कारण अन्याेलमा परिरहेका बेला खोप लगाएकाहरुलाई सहजै रुपमा प्रवेश दिने निर्णय स्वागतयोग्य भएको उनको भनाई छ । व्यवसायीहरुले पनि विश्वबजारमा नेपालको विषयमा प्रचार गर्नलाई सहज भएको बताउँदै सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलहरु भने पूर्ण रुपमा कार्यन्वयनमा जोड दिनुपर्ने बताए ।
रेष्टुराँ एण्ड बार एसाेसिएसन (रेबान)का महासचिव एकराज अधिकारीले रात्रिकालिन व्यवसाय २४ सैं घण्टा सञ्चालनका लागि सरकारसँग १० वर्ष अघिबाटै आवाज उठाउँदै आएको र अहिलेका गृहमन्त्रीले निर्णय गरेको भन्दै खुसी व्यक्त गरे ।
विदेशमा पर्यटकीय क्षेत्रहरु २४ सैं घण्टा सञ्चालनमा आउने र नेपालमा भने राति २ बजेपछि बन्द गर्नुपर्ने प्रावधान हटाउन पटक-पटक गरेको आग्रहलाई बेवास्ता गरिरहेको बेला हालका गृहमन्त्रीले भने जोखिम मोलेरै निर्णय गरेको बताउँदै यसबाट धेरै व्यवसायीहरुलाई राहत मिलेको उनको भनाइ छ ।
रात्रिकालीन व्यवसाय चलायमान हुँदा अर्थतन्त्रमा पनि सहयोग पुग्ने र रोजगारी पनि सिर्जना हुने भएकोले यसलाई दीर्घकालसम्म निरन्तरता दिनका लागि व्यवसायीहरुले पनि सरकारले भनेका प्रोटोकलहरु पूर्णरुपमा पालना गर्नुपर्ने उनको भनाइ छ । रेबानमा आबद्धहरुलाई ती प्रोटोकलहरु कडाईका साथ पालना गर्न सर्कुलर जारी गर्ने तयारीसमेत भएको उनले बताए ।
दरबारमार्गमा केही वर्षअघिबाट मात्र सञ्चालनमा आएको लण्डन पबका सञ्चालक प्रकाश घिमिरेले पनि सरकारका पछिल्ला निर्णयले केही सुखका श्वास फेर्न मद्दत पुगेको बताए ।
यस अघिसम्म राती २ बजेबाट अनिवार्य रुपमा पब बन्न गर्नुपर्ने बाध्यता रहेकोमा एक साता अघिबाट भने रातभरी खोल्न पाउँदा खुशी लागेको उनको भनाइ छ । ‘रातभरी व्यवसाय चलाउदा हामी मात्र हैन, ग्राहकहरु पनि खुशी हुनुहुन्छ’,सञ्चालक घिमिरेले भने ।
सरकारको निर्णयले काठमाडौंको मात्र हैन पोखरा र सौराहाका होटल तथा रेष्टुराँहरुमा पनि चहलपहल सुरु भएको छ । पोखराको लेकसाइडमा पनि पछिलो केही दिनदेखि रात्रिकालिन व्यवसायहरु चलायमान हुन थालेको रानिवन होटलका सञ्चालक हरि भुजेलको भनाई छ । पर्यटकहरुको चहलपहलले व्यवसायीहरुमा पनि उत्साह जगाएको उनले बताए ।