काठमाडौं । गत सातासम्म सुस्ताएको सेयर बजार आइतबार एकाएक तिख्खर चमक आएको छ । गत बिहीबार पनि ५२ अंकको सुधार आएको थियो ।
पछिल्लो पटक माघ ४ गते २९८१.९१ अंकसम्म पुगेको सेयर बजार सूचक त्यसपछि घट्दो ट्रेन्ड समाएको थियो । बजार घट्दै जाँदा गत साता बिहीबारै २४९८.४५ सम्म पुगेर उक्लिएको थियो । तर, आइतबार बजारले नाटकीय चमत्कार देखाउँदै बिहीबारको तुलनामा ९८ अंकले बढ्यो ।
आइतबार प्रि ओपनिङमै ९ अंकले सुधार आएको बजार त्यसपछि निरन्तर उकालो लागिरह्यो । यद्यपि, बीचमा तीनवटा साना गिरावटको लक्षण देखाएको थियो । खासगरी, सरकार पुनर्गठन गर्दा अर्थमन्त्री जनार्दन शर्माको बहिर्गमनको चर्चा, बिमा कम्पनीको पुँजी बढाउनुपर्ने आशयको बिमा समितिका अध्यक्ष सूर्य सिलवालका बेलगाम भनाइ, चैतमा निक्षेपको ब्याजदर नबढाउने सहमति, न्यून बिन्दुमा ओर्लिएको बजारबाट सेयर उठाएका स्मार्ट लगानीकर्ता नाफा लिन खोज्ने प्रवृत्ति र बाह्य क्षेत्र मा (शोधनान्तर स्थिति) देखिएको तुलनात्मक सुधारलाई लिएर बजार उचालेको देखिन्छ ।
हरेक लगानीकर्ताहरुले आ–आफू अनुकूलको र औकात तथा क्षमताले भ्याएसम्मको व्याख्या गर्दै बजारलाई २५०० बिन्दुबाट तल जान नदिन भरमग्दुर प्रयास गरेको देखिन्छ । त्यसैको परिणाम आइतबार बजार सूचकले छलाङ हानेको छ ।
म्युचुअल फण्ड र ऋणपत्रबाहेक १९२ कम्पनीको सेयर किनबेच भएकोमा १८८ कम्पनीको सेयर मूल्य बढेको छ । आइतबार नेप्से सूचक १०१.०७ अंकले बढेर २७६७.९७ बिन्दुमा पुगेको छ । यसदिन कारोबार रकममा पनि उल्लेखीय सुधार आएको छ । आइतबार ४ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गतसाता सबैभन्दा बढी कारोबार भएको बिहीबार २ अर्ब ७८ करोडको मात्रै छ ।
स्थानीय तहको चुनावका कारण निर्वाचन आचार संहिता लाग्ने भय देखाएर छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा केही दिनदेखि हुँदै आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालय खाली छन् । ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिसँगै केही मन्त्रीको जिम्मेवारी हेरफेर र केही मन्त्रीलाई फिर्ता बोलाउने गठबन्धन दलका नेताहरुको सार्वजनिक अभिव्यक्तिले अर्थमन्त्री शर्मा बहिर्गमनमा पर्ने व्यापक चर्चा सुरु भएको छ ।
माओवादी समर्थित उद्योगी व्यवसायी पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष शर्माका कारण मुलुकको अर्थतन्त्र संकटतर्फ धकेलिएको रिपाेर्टिङ गरिरहेका छन् । उता प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि अर्थमन्त्री शर्माको मूल्य नेपाली कांग्रेसले चुकाउन नहुने दबाब दिइरहेका छन् । यसैलाई आधार मानेर धेरैले अर्थमन्त्री शर्मा बहिर्गमनमा पर्ने चर्चा बजारमा गरिरहेका छन् । सेयर बजार प्रतिनकारात्मक भएका भनिएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनका हल्लाहरुमा पनि सेयर बजारले यस्तै प्रतिक्रिया जनाउने गरेको थियो ।
त्यसैगरी, पछिल्लो समय सार्वजनिक अभिव्यक्तिहरुमा समितिका अध्यक्ष सिलवालले बिमा कम्पनीहरुको अहिलेको पुँजीले व्यापार गर्न नसक्ने अवस्था रहेको र पुँजी बढाउनुको विकल्प नभएको प्रतिक्रिया दिइरहेका छन् । यसले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय कुनै पनि बेला हुन सक्छ भनेर स्मार्ट लगानीकर्ताहरुले बिमा कम्पनीहरुको सेयरमा खेल्न खोजेका छन् । त्यसैको परिणाम आइतबार ३ बिमा कम्पनीले सकारात्मक सर्किट लगाए भने अन्य कम्पनीहरुको पनि तुलनात्मक रुपमा मूल्य बढिरहेको छ । हाल जीवन बिमाको २ अर्ब र निर्जीवनको १ अर्ब पुँजी छ ।
अर्कोतिर राष्ट्र बैंकले सुनमा घटाएको कोटा र कतिपय वस्तुमा लगाएको परिमाणत्मक बन्देज तथा शतप्रतिशतसम्मको मार्जिनको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने आँकलन भइरहेको छ । चालू आर्थिक वर्षको ७ महिनाको आर्थिक प्रतिवेदनमा बाह्य क्षेत्रको अवस्था तुलनात्मक रुपमा स्थिर देखिएको छ । पुसमा २ खर्ब ४१ अर्ब भुक्तानी सन्तुलन ऋणात्मक रहेकोमा माघमा ६ अर्ब मात्रै बढे पछि त्यसयता चालिएका थप कदमहरुले विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव पर्ने र त्यसले अर्थतन्त्रका सूचहरुसँगै वित्तीय क्षेत्रमा देखिएको तरलता संकटको स्थितिलाई पनि विस्तारै समाधान गर्ने अपेक्षालाई लगानीकर्ताहरुले आफूअनुकूल व्याख्या गरेर बजारलाई प्रभावित बनाइरहेका छन् ।